येशू पानीमाथि हिँड्नुभएको
22 येशूले भीडलाई बिदा गर्न लाग्दा चेलाहरूलाई चाहिँ डुङ्गामा चढेर झट्टै आफूभन्दा अगि पारिपट्टि जान लाउनुभयो। 23 उहाँले भीडलाई बिदा गरिसक्नुभएपछि उहाँ एकलै प्रार्थना गर्न एउटा पहाडमा जानुभयो। रात पर्दा उहाँ त्यहाँ एकलै हुनुहुन्थ्यो, 24 तर डुङ्गा जमिनदेखि धेरै टाढा पुगिसकेको थियो, बतास उल्टो बहेकाले छालहरूले त्यसलाई हुत्याउँदैथियो।
25 बिहान तीन बजेतिर येशू समुद्रमाथि हिँड्दै तिनीहरूतिर जानुभयो। 26 जब चेलाहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरू डराए। अनि तिनीहरू, "यो त भूत हो" भनी डरले चिच्याए।
27 तर येशूले तुरुन्तै तिनीहरूलाई भन्नुभयो: "साहस गर! म नै हुँ; नडराओ।"
28 पत्रुसले जवाफ दिए, "प्रभु यदि तपाईं नै हुनुहुन्छ भने मलाई तपाईंकहाँ पानीमा आउने आज्ञा दिनुहोस्।"
29 उहाँले भन्नुभयो, "आऊ।"
तब पत्रुस डुङ्गाबाट ओर्लेर पानीमाथि हिँड्दै येशूतिर आए। 30 तर जब तिनले बतास देखे, तब तिनी डराए, र डुब्न लाग्दा, "प्रभु, मलाई बचाउनुहोस्!" भनेर चिच्याए।
31 येशूले तुरुन्तै आफ्नो हात पसारेर तिनलाई पक्रनुभयो र भन्नुभयो, "हे अल्पविश्वासी, तिमीले किन शङ्का गर्यौ?"
32 अनि जब उहाँहरू डुङ्गामा चढ्नुभयो, बतास शान्त भयो। 33 तब डुङ्गामा हुनेहरूले "साँच्चै तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ" भने, र उहाँलाई दण्डवत् गरे।