3 त्यस बेला जब राजा हेरोदले यो सुने, तिनी र यरूशलेममा भएका सबै आत्तिए। 4 अनि तिनले सबै मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूलाई बोलाए। अनि ख्रीष्टको जन्म कहाँ हुनुपर्ने हो भनी सोधे। 5 तिनीहरूले जवाफ दिए, "यहूदियाको बेथलेहेममा, किनकि अगमवक्ताले यस बारेमा यसरी लेखेका छन्:
6 " ‘तर यहूदा प्रदेशमा भएको, ए बेथलेहेम,
तँ कुनै किसिमले पनि यहूदाका शासकहरूमध्ये सानो छैनस्;
किनकि तँबाट एक जना शासक आउनुहुनेछ,
जो मेरा मानिस, इस्राएलका गोठाला हुनुहुनेछ।’2:6 मीका 5:2, 4"
7 तब हेरोदले ज्योतिषीहरूलाई सुटुक्क बोलाएर तारा देखा परेको ठिक समय पत्ता लगाए। 8 अनि तिनले तिनीहरूलाई बेथलेहेममा पठाएर यसो भने, "जाओ, र होसियारीसाथ बालकलाई खोज। तिमीहरूले उहाँलाई भेट्टाउनसाथ मलाई भन, र म पनि गएर उहाँलाई दण्डवत् गर्नेछु।"