गेतसमनीमा येशूको प्रार्थना
36 तब येशू आफ्ना चेलाहरूसित गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो, "म अलि पर गएर प्रार्थना गर्नेछु। तिमीहरू यहीँ बस!" 37 उहाँले पत्रुस र जब्दीका दुई छोराहरूलाई आफूसित लानुभयो, र उहाँ दुःखित र व्याकुल हुन थाल्नुभयो। 38 तब उहाँले तिनीहरूलाई भन्नुभयो, "मेरो प्राण शोकले मरेतुल्य भएको छ; तिमीहरू यहीँ बस, र मसित जागा रहो!"
39 अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर प्रार्थना गर्नुभयो, "हे मेरा पिता, यदि सम्भव भए यो कचौरा मदेखि हटाइयोस्; तरै पनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।"
40 तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो, र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई सोध्नुभयो, "के तिमीहरू मसित एक घण्टा पनि जागा रहन सकेनौ? 41 जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।"
42 उहाँ दोस्रोपल्ट पर जानुभयो र प्रार्थना गर्नुभयो, "हे मेरा पिता, यदि मैले नपिई यो कचौरा मबाट हटाइनु सम्भव छैन भने तपाईंको इच्छा पूरा होस्।"
43 जब उहाँ फर्केर आउनुभयो, उहाँले फेरि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो; किनकि तिनीहरूका आँखा लोलाएका थिए। 44 यसकारण उहाँले तिनीहरूलाई छोडेर एकपल्ट फेरि गएर उही शब्दहरू दोहोर्याउँदै प्रार्थना गर्नुभयो।
45 तब उहाँ चेलाहरूकहाँ फर्किआएर तिनीहरूलाई भन्नुभयो, "के तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? हेर, समय आइपुगेको छ, अब मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइँदैछ। 46 उठ! हामी जाऔँ! हेर, मलाई पक्राइदिने आइपुगेको छ!"