बप्तिस्मा दिने यूहन्नाले बाटो तयार पारेका
1 ती दिनहरूमा यहूदियाको उजाडस्थानमा बप्तिस्मा दिने यूहन्ना प्रचार गर्दै यसो भन्दै आए, 2 "पश्चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।" 3 यी तिनी नै हुन्, जसको बारेमा यशैया अगमवक्ताले यसो भनेका थिए:
"उजाडस्थानमा एक जना कराउनेको आवाज,
‘प्रभुका निम्ति बाटो तयार पार,
उहाँका निम्ति मार्ग सीधा बनाओ।’3:3 यशै 40:3"
4 यूहन्नाको लुगा ऊँटको रौँले बनेको थियो। अनि तिनले कम्मरमा छालाको पटुका बाँधेका थिए। तिनको भोजन सलह र वन-मह थियो। 5 यरूशलेम, सबै यहूदिया अनि यर्दनका सम्पूर्ण इलाकाबाट मानिसहरू तिनीकहाँ गए। 6 आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीहरूले तिनीद्वारा यर्दन नदीमा बप्तिस्मा लिए।