Publicidade

Romanos 16

व्यक्तिगत अभिवादन

1 किंक्रिया मण्डलीकी सेविका हाम्री बहिनी फिबीको बारेमा म तिमीहरूका सामु प्रशंसा गर्दछु। 2 तिनलाई प्रभुमा उहाँका सन्तहरूलाई सुहाउने तरिकाले ग्रहण गर भनी म तिमीहरूलाई बिन्ती गर्दछु, र तिनलाई कुनै पनि कुरामा तिमीहरूको आवश्यकता पर्‍यो भने सहायता गर। किनकि तिनी म लगायत धेरैका निम्ति सहयोगी बनेकी छिन्।

3 ख्रीष्‍ट येशूमा मेरा सहकर्मी प्रिस्किला र अक्विलालाई अभिवादन छ। 4 तिनीहरूले मेरो निम्ति आफ्नो ज्यान जोखिममा पारेका थिए। म मात्र होइन, तर सारा गैरयहूदी मण्डलीहरू पनि तिनीहरूप्रति कृतज्ञ छन्।

5 तिनीहरूका घरमा भेला हुने मण्डलीलाई पनि अभिवादन छ।

इपेनितस मेरो प्रिय मित्र, जो एशियामा प्रभु ख्रीष्‍टमा आउने पहिलो विश्‍वासी थिए, उनलाई पनि अभिवादन भनिदेओ।

6 मरियमलाई पनि अभिवादन भनिदेओ, जसले तिमीहरूका निम्ति कडा परिश्रम गरिन्।

7 एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र सङ्गी कैदीहरूलाई पनि अभिवादन भनिदेओ। प्रेरितहरूका बीचमा तिनीहरू प्रख्यात छन्, र मभन्दा पहिले तिनीहरूले ख्रीष्‍टमा विश्‍वास गरेका थिए।

8 अम्प्लीआतस, प्रभुमा मेरा प्रिय मित्रलाई अभिवादन भनिदेओ।

9 ख्रीष्‍टमा मेरा सहकर्मी उर्बानस र मेरा प्रिय मित्र स्ताखुसलाई अभिवादन भनिदेओ।

10 ख्रीष्‍टमा दृढ र योग्य ठहरिएका अपेल्‍लेसलाई अभिवादन भनिदेओ।

अरिस्तोबुलसको घरानाका सबैलाई अभिवादन भनिदेओ।

11 मेरा आफन्त, हेरोदियनलाई अभिवादन भनिदेओ।

प्रभुमा भएका नर्किससका घरानाका सबैलाई अभिवादन भनिदेओ।

12 प्रभुमा कडा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई पनि अभिवादन भनिदेओ।

प्रभुमा ज्यादै परिश्रमी अर्की नारी मेरी प्रिय मित्र, परसीसलाई अभिवादन भनिदेओ।

13 प्रभुमा चुनिएका रूफसलाई र तिनकी आमा, जो मेरी पनि आमाझैँ हुन्, उनीहरूलाई पनि अभिवादन भनिदेओ।

14 असिंक्रितस, फ्लेगन, हर्मेस, पाट्रोबास, हर्मास र उनीहरूसँग रहने दाजुभाइ-दिदीबहिनीहरूलाई मेरो अभिवादन भनिदेओ।

15 फिलोलोगस, युलिया, नेरियस र तिनकी बहिनी तथा ओलिम्पास र उनीहरूसँग हुने प्रभुका सन्तहरूलाई अभिवादन भनिदेओ।

16 ख्रीष्‍टिय प्रेमसाथ एक-अर्कालाई अभिवादन गर।

ख्रीष्‍टका मण्डलीका सबैले तिमीहरूलाई अभिवादन पठाएका छन्।

17 दाजुभाइ-दिदीबहिनीहरू हो, म बिन्ती गर्छु, तिमीहरूका बीचमा फाटो ल्याउने र तिमीहरूले सिकेका कुराको विरुद्ध बाधा पुर्‍याउनेहरूसँग होसियार बस। तिनीहरूसँग टाढा बस। 18 किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्‍टको सेवा होइन, तर आफ्नै स्वार्थ मात्र पूरा गर्दछन्। निर्दोष हृदय भएका मानिसहरूलाई तिनीहरूका चिप्लो र फुर्काउने कुराहरूले बहकाउँछन्। 19 तिमीहरूको आज्ञाकारिताबारे प्रत्येकले सुनेका छन्। तिमीहरूको कारण म आनन्दित छु; तर म तिमीहरू असल काममा बुद्धिमान् र दुष्‍ट काममा निर्दोष रहेको चाहन्छु।

20 शान्तिका परमेश्‍वरले चाँडै नै शैतानलाई तिमीहरूको खुट्टामुनि कुल्चाउनुहुनेछ।

हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस्!

21 मेरा सहकर्मी तिमोथीले तिमीहरूलाई आफ्नो अभिवादन पठाएका छन्। अनि त्यसरी नै मेरा आफन्तहरू लुकियस, यासोन र सोसिपाटरले पनि अभिवादन पठाएका छन्।

22 म तर्तियस, पावलले भनेका कुरा यो पत्रमा लेख्ने व्यक्तिको पनि प्रभुमा सबैलाई अभिवादन पठाउँछु।

23 गायस, जसको पाहुनासत्कारले म र यहाँका पूरै मण्डली आनन्दित छौँ, उनले तिमीहरूलाई अभिवादन पठाएका छन्।

यस सहरका कोषाध्यक्ष इरास्तस र हाम्रा भाइ क्वार्टसले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्।

24 हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसँग रहोस्! आमेन।

25 अब उहाँलाई नै, जसले मैले प्रचार गरेको येशू ख्रीष्‍टको सुसमाचारअनुसार तिमीहरूलाई दृढ पार्न सक्नुहुन्छ, त्यस रहस्यको प्रकाशअनुसार जुन सनातनदेखि गुप्‍त थियो; 26 तर अब अनन्तका परमेश्‍वरको आज्ञाअनुसार प्रकट गरिएको र अगमवक्ताहरूका लेखाइद्वारा थाहा गराइएको छ, ताकि सबै गैरयहूदीहरू विश्‍वासद्वारा आज्ञाकारी बनून्— 27 उही अद्वितीय सर्वज्ञानी परमेश्‍वरलाई येशू ख्रीष्‍टद्वारा सदासर्वदा महिमा भइरहोस्! आमेन।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-