परमेश्वरको धार्मिक न्याय
1 यसकारण ए मानिस, तिमी जोसुकै भए तापनि तिमीलाई केही बहाना छैन। किनभने तिमी जुन कुरामा अरूलाई दोष लगाउँछौ, त्यही कुरामा आफूलाई पनि दोषी तुल्याइरहेका छौ। किनकि जुन कुराको निम्ति अरूलाई दोषी तुल्याउँछौ, तिमी दोष लाउनेले पनि त्यही काम गरिरहेका हुन्छौ। 2 हामी जान्दछौँ, यस्ता काम गर्नेहरूका विरुद्ध परमेश्वरले सत्यताअनुसार न्याय गर्नुहुन्छ। 3 यसकारण, ए मानिस, तिमी अरूलाई न्याय गर्दछौ र आफूले चाहिँ त्यही काम गर्छौ भने के तिमी परमेश्वरको न्यायदेखि उम्कन सक्छौ भनी सम्झन्छौ?