2 यस्तो कहिल्यै नहोस्! हामी जो पापको निम्ति मरिसक्यौँ; फेरि कसरी पापमा जिइरहने त? 3 के तिमीहरूलाई थाहा छैन कि हामी जति जनाले ख्रीष्ट येशूमा बप्तिस्मा लियौँ, उहाँसँग एक हुनका लागि उहाँको मृत्युमा बप्तिस्मा लिएका थियौँ? 4 तसर्थ बप्तिस्माद्वारा उहाँसँगै एक हुनका लागि मृत्यु भएको कारण हामी उहाँसँगै गाडियौँ। जसरी ख्रीष्ट मृत्युबाट पिताको महिमाद्वारा पुनर्जीवित पारिनुभयो, त्यसरी नै हामी पनि नयाँ जीवन जिऔँ।
5 यदि हामी उहाँसँगै उहाँको मृत्युको समानतामा एक भएका छौँ भने निश्चित रूपमा उहाँसँगै उहाँको पुनरुत्थानको समानतामा पनि उहाँसँगै एक हुनेछौँ। 6 किनकि हामी जान्दछौँ, हाम्रो पुरानो जीवन उहाँसँगै क्रूसमा टाँगियो, ताकि पापको स्वभाव नाश होस् र अब उसो हामी पापको सेवकहरू भएर बस्नु नपरोस्। 7 किनकि जो मरेको छ, ऊ पापबाट मुक्त भएको छ।