पवित्र आत्माद्वारा नियन्त्रित जीवन
1 यसकारण अब ख्रीष्ट येशूमा हुनेहरूका लागि दण्डको कुनै आज्ञा छैन। 2 किनकि जीवन दिनुहुने परमेश्वरको आत्माको व्यवस्थाले ख्रीष्ट येशूद्वारा तिमीलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गरिदिएको छ। 3 किनकि पापमय स्वभावद्वारा कमजोर बनाइएको व्यवस्थाले जे गर्न सकेको थिएन, परमेश्वरले पापको क्षमादान ल्याउनुभयो; उहाँले आफ्नै पुत्रलाई पापमय शरीरको समानतामा हुन पठाउनुभयो। यसरी उहाँले आफ्नै पुत्रको शरीरमा पापलाई दोषी ठहराउनुभयो, 4 ताकि शारीरिक स्वभावअनुसार होइन, तर परमेश्वरको आत्माअनुसार जिउने हामीमा, व्यवस्थाले मागेको धार्मिक आवश्यकता पूर्ण रूपमा पूरा होस्।