14 याहवेहको महान् दिन नजिकै छ—
त्यो नजिकै छ, र अब त्यो चाँडै आउँदैछ।
याहवेहको त्यो दिनको रुवाइ-कराइ अत्यन्तै तितो हुनेछ;
त्यो दिन वीर योद्धा पनि आफ्नो युद्धको निम्ति चिच्याउँदै रुनेछन्।
15 त्यो दिन क्रोधको दिन हुनेछ—
सङ्कष्ट र वेदनाको दिन,
कष्ट र सर्वनाशको दिन,
अन्धकार र निराशाको दिन,
बादल र घोर अन्धकारको दिन।
16 सुरक्षित किल्ला भएका सहरहरूका विरुद्धमा
र कुनाहरूमा रहेका धरहराहरूको विरुद्धमा
तुरही र लडाइँको आवाज सुनिने दिन।
17 "म सबै मानिसहरूमाथि यस्तो सङ्कष्ट ल्याउनेछु,
कि तिनीहरू अन्धा मानिसहरूजस्तै छामछाम-छुमछुम गर्नेछन्;
किनकि तिनीहरूले याहवेहको विरुद्धमा पाप गरेका छन्।
तिनीहरूको रगत धुलोझैँ
र तिनीहरूका आन्द्राभुँडी गोबरझैँ फ्याँकिनेछन्।
18 तिनीहरूलाई याहवेहको क्रोधको दिनमा,
न त तिनीहरूका सुनले,
न त तिनीहरूका चाँदीले तिनीहरूलाई बचाउनसक्नेछ।"
उहाँको डाहको आगोमा
सारा संसार भस्म पारिनेछ;
किनकि यस पृथ्वीमा बसोबास गर्ने
सबैलाई उहाँले अचानक अन्त्य गर्नुहुनेछ।