Publicidade

Tiago 4

परमेश्‍वरमा समर्पण

1 तिमीहरूमा झगडा र लडाइँ के कुराबाट आउँछ? के ती तिमीहरूभित्र सङ्घर्ष गर्ने स्वार्थी इच्छाहरूबाट आउँदैनन् र? 2 तिमीहरू इच्छा गर्दछौ, तर पाउँदैनौ; त्यसैले तिमीहरू हत्या गर्दछौ। तिमीहरू लालच गर्दछौ, तर तिमीहरूले चाहेका कुराहरू पाउँदैनौ; त्यसैले तिमीहरू झगडा र लडाइँ गर्दछौ; तर पनि तिमीहरूले पाउँदैनौ, किनकि तिमीहरू परमेश्‍वरसित माग्दैनौ। 3 तिमीहरू माग्दछौ, तर पाउँदैनौ; किनकि तिमीहरूले पाएका कुराहरू आफ्नो सुख-विलासमा खर्च गर्नलाई गलत उद्देश्य राखेर माग्दछौ।

4 तिमी व्यभिचारी मानिसहरू, के संसारसितको मित्रता परमेश्‍वरतर्फको शत्रुता हो भनेर जान्दैनौ? जो संसारसित मित्र हुन चाहन्छ, ऊ परमेश्‍वरको शत्रु बन्छ। 5 अथवा उहाँले हामीभित्र राखिदिनुभएका आत्माले धेरै डाह गर्नुहुन्छ भनेर पवित्र धर्मशास्त्रले व्यर्थैमा भनेको हो भनी तिमीहरू ठान्छौ? 6 तर उहाँले हामीलाई अझ बढी अनुग्रह गर्नुहुन्छ। यसकारण पवित्र धर्मशास्त्रमा लेखिएको छ:

"परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ,

तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ।"

7 यसकारण आफूलाई परमेश्‍वरकहाँ सुम्पिदेओ। शैतानको विरोध गर, र त्यो तिमीहरूदेखि भाग्नेछ। 8 परमेश्‍वरको नजिक आओ र उहाँ पनि तिमीहरूको नजिक आउनुहुनेछ। हे पापीहरू हो, आफ्ना हातहरू शुद्ध पार! हे दोमनका मानिसहरू हो, आफ्ना हृदय शुद्ध पार! 9 दुःखित होओ, शोकित होओ र रोओ! तिमीहरूका हाँसो शोकमा र तिमीहरूका आनन्द दुःखमा परिणत होस्। 10 प्रभुको सामु आफूलाई नम्र तुल्याओ र उहाँले तिमीहरूलाई उच्‍च पार्नुहुनेछ।

11 हे दाजुभाइ-दिदीबहिनीहरू हो, एक-अर्काको निन्दा नगर। जसले आफ्ना दाजुभाइ-दिदीबहिनीको विरुद्धमा बोल्छ वा उसलाई न्याय गर्दछ, उसले व्यवस्थाको विरुद्धमा बोल्दछ, र त्यसको न्याय गर्छ। जब तिमीहरूले व्यवस्थाको न्याय गर्छौ भने तिमीहरूले त्यो पालन गरेका हुँदैनौ, तर न्यायकर्ता बनेर त्यसमाथि बसेका हुन्छौ। 12 व्यवस्था दिने र न्यायकर्ता त एउटै मात्र हुनुहुन्छ; परमेश्‍वर जसले बचाउन र नाश गर्न पनि सक्नुहुन्छ; तर आफ्नो छिमेकीको न्याय गर्ने तिमीहरू को हौ?

भोलिको बारेमा घमण्ड नगर

13 अब ध्यानसित सुन, तिमीहरू जसले यसो भन्छौ, "हामी आज अथवा भोलि यो सहर अथवा त्यो सहरमा जानेछौँ, त्यहाँ एक वर्ष बिताउनेछौँ र व्यापार गरेर पैसा कमाउनेछौँ।" 14 तर भोलि के हुने हो, सो तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन के हो? तिमीहरू त एकैक्षण देखा परेर लोप भइजाने तुवाँलो जस्तै हौ। 15 यसको सट्टा तिमीहरूले "यदि प्रभुको इच्छा भएमा हामी बाँचेर यसो गरौँला, त्यसो गरौँला" भन्‍नुपर्नेथियो। 16 तिमीहरू त अहङ्कारी योजनाहरूमा घमण्ड गर्छौ, यस्तो सबै घमण्ड दुष्‍टता हो। 17 त्यसकारण जसले भलाइ गर्नुपर्छ भन्‍ने जानेर पनि त्यसो गर्दैन भने त्यसले पाप गर्दछ।

Veja também

Publicidade
Tiago
Ver todos os capítulos de Tiago
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-