Publicidade

1 Crônicas 16

सन्दुकको सामु आराधना

1 तिनीहरूले परमेश्‍वरको सन्दुक ल्याए र दावीदले सन्दुकको निम्ति तयार पारेको विशेष पालभित्र त्यसलाई राखे। तिनीहरूले याहवेहको सामु होमबलि र मेलबलि चढाए। 2 दावीदले होमबलि र मेलबलि चढाइसकेपछि, तिनले याहवेहको नाममा मानिसहरूलाई आशिष् दिए। 3 त्यसपछि तिनले हरेक इस्राएली पुरुष र स्त्रीलाई एउटा रोटी, खजूरको डल्‍ला र किसमिसको झुप्पा दिए।

4 दावीदले केही लेवीहरूलाई याहवेहको सन्दुकको सामु सेवा गर्न, याहवेह इस्राएलका परमेश्‍वरलाई आह्वान गर्न, धन्यवाद दिन र प्रशंसा गर्न नियुक्त गरे। 5 आसापचाहिँ अगुवा थिए; दोस्रो दर्जामा जकरिया, त्यसपछि यीएल, शमीरामोत, यहीएल, मत्तीत्याह, एलिआब, बनायाह, ओबेद-एदोम र यीएल थिए। तिनीहरूले सारङ्गी र वीणा बजाउँथे। आसापले चाहिँ झ्याली बजाउँथे। 6 अनि बनायाह र यहजीएल पुजारीहरूले नियमित रूपले परमेश्‍वरको करारको सन्दुकको सामु तुरहीहरू बजाउँथे।

7 त्यस दिन पहिलो पटक दावीदले याहवेहलाई धन्यवादको भजन चढाउन आसाप र तिनका सहयोगीहरूलाई नियुक्त गरे:

8 याहवेहलाई प्रशंसा देओ, उहाँको नामको घोषणा गर;

जाति-जातिहरूमा उहाँले गर्नुभएका कार्यहरूको बयान गर।

9 उहाँको निम्ति गाओ; उहाँको प्रशंसाको गीत गाओ!

उहाँका सबै अद्‌भुत कार्यहरूको वर्णन गर!

10 उहाँको पवित्र नाममा गर्व गर;

याहवेहलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्।

11 याहवेह र उहाँको शक्तिलाई हेर;

उहाँको मुहारको निरन्तर खोजी गर।

12 उहाँले गर्नुभएका अद्‌भुत कार्यहरू स्मरण गर,

उहाँका अचम्मका कामहरू, र उहाँले गर्नुभएका फैसलाको सम्झना गर!

13 हे याहवेहका सेवक इस्राएलका सन्तान हो!

हे याकोबका छोराहरू, उहाँद्वारा चुनिएकाहरू हो!

14 उहाँ नै याहवेह हाम्रा परमेश्‍वर हुनुहुन्छ;

उहाँका न्यायका कामहरू सारा पृथ्वीमा छ।

15 परमेश्‍वरले आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ,

त्यो प्रतिज्ञा, जो उहाँले हजार पुस्ताहरूलाई दिनुभएको थियो;

16 त्यो करार, जो उहाँले अब्राहामसँग बाँध्नुभएको थियो;

अनि त्यो शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो,

17 त्यो उहाँले याकोबसँग उर्दीको रूपमा,

र इस्राएलसँग अनन्त करारको रूपमा पक्‍का गर्नुभयो:

18 "म तँलाई कनान देश दिनेछु,

त्यो पैतृक सम्पत्तिको रूपमा तेरो भाग हुनेछ।"

19 जब तिनीहरू संख्यामा थोरै थिए,

अति थोरै र त्यसमाथि पनि परदेशीहरू थिए।

20 तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा,

अनि एउटा राज्यबाट अर्को राज्यमा भौतारिँदै हिँड्थे।

21 उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन;

तिनीहरूको खातिर उहाँले राजाहरूलाई यसरी हप्काउनुभयो:

22 "मेरा अभिषिक्त जनहरूलाई नछोओ;

मेरा अगमवक्ताहरूलाई केही हानि नगर!"

23 हे सारा पृथ्वीका मानिस हो, याहवेहको निम्ति गाओ;

दिन प्रतिदिनै उहाँले गर्नुभएको उद्धारको घोषणा गर।

24 जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर!

सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर!

25 किनकि याहवेह महान् हुनुहुन्छ, र अति उच्‍च प्रशंसाको योग्य हुनुहुन्छ;

सारा देवहरूभन्दा उहाँको भय मान्‍नुपर्छ।

26 किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्;

तर याहवेहले त स्वर्गहरू सृष्‍टि गर्नुभयो।

27 उहाँको सामु गौरव र वैभव छन्;

उहाँको वासस्थानमा शक्ति र आनन्द छन्।

28 हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान,

याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ।

29 याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ;

भेटी लिएर उहाँको सामु आओ।

याहवेहलाई उहाँको पवित्रताको वैभवमा आराधना गर!

30 हे सारा पृथ्वी, उहाँको सामु थरथर काँप्!

संसार दृढतासाथ स्थापित भएको छ; यसकारण यो हल्‍लिन सक्दैन।

31 स्वर्गहरूले आनन्द मनाऊन्, पृथ्वी हर्षित होस्!

तिनीहरूले राष्ट्रहरूको बीचमा भनून्, "याहवेहले शासन गर्नुहुन्छ!"

32 समुद्र र त्यसमा भएका हरेक प्राणीले जयजयकार गरून्!

खेतहरू र त्यसमा भएका हरेक थोक हर्षित होऊन्!

33 तब वनका रूखहरूले गाऊन्,

तिनीहरूले याहवेहको सामु आनन्दले गाऊन्;

किनकि उहाँ संसारको न्याय गर्न आउनुहुन्छ।

34 याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ;

उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

35 यसो भनेर कराओ, "हे हाम्रा उद्धारकर्ता परमेश्‍वर, हामीलाई बचाउनुहोस्;

हामीलाई एक ठाउँमा भेला गर्नुहोस्,

र हामीलाई अन्य राष्ट्रहरूबाट छुटकारा दिनुहोस्;

ताकि हामी तपाईंको पवित्र नामलाई धन्यवाद दिन सकौँ,

र तपाईंको प्रशंसामा गर्व गर्न सकौँ!"

36 याहवेह, इस्राएलका परमेश्‍वरलाई

सदासर्वदा प्रशंसा होइरहोस्!

तब सबै मानिसहरूले भने, "आमेन" र "याहवेहको प्रशंसा होस्।"

37 त्यसपछि दावीदले आसाप र तिनका सहयोगीहरूलाई विधिअनुसार हरेक दिन याहवेहको करारको सन्दुकको सामु नियमित रूपले गर्नुपर्ने सेवा गर्नलाई खटाए। 38 तिनले यदूतूनका छोरा ओबेद-एदोम र तिनका अठसट्ठी जना सहयोगीहरूलाई पनि तिनीहरूसँग सेवा गर्नलाई खटाए। ओबेद-एदोम र होसा द्वारपालहरू पनि थिए।

39 दावीदले पुजारी सादोक र तिनका अरू सङ्गी पुजारीहरूलाई गिबोनको अग्लो ठाउँमा याहवेहको समागम पालमा 40 याहवेहले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा लेखिएबमोजिम, बिहान र बेलुकी याहवेहका निम्ति होमबलिको वेदीमा निरन्तर होमबलि चढाउन खटाए। 41 तिनीहरूसँग हेमान, यदूतून र याहवेहलाई धन्यवाद दिनलाई नामद्वारा चुनिएका र नियुक्त गरिएका अरू बाँकी जनहरू थिए, "किनभने उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।" 42 हेमान र यदूतूनचाहिँ पवित्र भजनको निम्ति तुरही फुक्ने, झ्याली बजाउने र अरू बाजाहरू बजाउन जिम्मेवार थिए।

43 त्यसपछि बाँकी सबै मानिसहरू आ-आफ्ना घरतिर लागे; अनि दावीदचाहिँ आफ्नो परिवारलाई आशिष् दिन घर फर्के।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-18_14-04-22-