नामानको कुष्ठरोग निको भएको
1 नामान अरामका राजाको फौजका सेनापति थिए। तिनी आफ्ना मालिकको दृष्टिमा एक महान् र अति इज्जतदार व्यक्ति थिए। किनकि तिनीद्वारा याहवेहले अरामलाई विजय दिनुभएको थियो। तिनी वीर योद्धा थिए, तर तिनलाई कुष्ठरोग लागेको थियो।
2 अरामी आक्रमणकारीहरूले इस्राएलमाथि आक्रमण गर्दा एक दलले एउटी जवान केटीलाई बन्दी बनाएर ल्याएका थिए। त्यसले नामानकी पत्नीको सेवा गर्थी। 3 त्यसले आफ्नी मालिक्नीलाई भनी, "यदि मेरो मालिकले सामरियामा बस्नुहुने अगमवक्तालाई भेट्नुभयो भने उहाँले तिनको कुष्ठरोग निको पारिदिनुहुनेथियो!"
4 नामानले आफ्ना मालिककहाँ गएर उनलाई इस्राएली केटीले भनेका कुरा बताइदिए। 5 अरामका राजाले जवाफ दिए, "तिमी अवश्य जाऊ। म इस्राएलका राजालाई एउटा पत्र लेखिदिनेछु।" यसकारण आफूसित दश टालेन्ट5:5 लगभग 340 किलो चाँदी, छ हजार शेकेल5:5 लगभग 69 किलो सुन र दश जोर लुगा लिएर नामान गए। 6 तिनले इस्राएलका राजाकहाँ लगेका पत्रमा यसरी लेखिएको थियो: "तपाईंले मेरा सेवक नामानको कुष्ठरोग निको पारिदिनुहोला भनेर म यस पत्रसहित उसलाई तपाईंकहाँ पठाउँदैछु।"
7 इस्राएलका राजाले त्यो पत्र पढ्नसाथ आफ्ना वस्त्र च्यातेर भने, "के म परमेश्वर हुँ? के म मारेर फेरि जीवन दिन सक्छु? यस मानिसले कसैलाई उसको कुष्ठरोग निको हुनको लागि किन मकहाँ पठाउँछ? हेर, कसरी त्यसले मसित झगडाको निहुँ खोज्दैछ!"
8 जब परमेश्वरका जन एलीशाले इस्राएलका राजाले आफ्नो वस्त्र च्यातेका कुरा सुने, तब तिनले राजाकहाँ यस्तो खबर पठाए: "तपाईंले किन आफ्नो वस्त्र च्यात्नुभयो? त्यो मानिस मकहाँ आओस् र त्यसले इस्राएलमा एक जना अगमवक्ता छ भनी जान्नेछ।" 9 यसकारण नामान आफ्ना घोडाहरू र रथहरूसित गए, अनि एलीशाको घरको ढोकामा अडिए। 10 एलीशाले यसो भनेर तिनीकहाँ एक जना दूत पठाए, "जानुहोस्, यर्दनमा सातपल्ट डुबुल्की मार्नुहोस्, र तपाईंको छाला निको हुनेछ, र तपाईं शुद्ध हुनुहुनेछ।"
11 तर नामान रिसाएर गए, र तिनले भने, "मैले त तिनी बाहिर निस्केर मकहाँ आएर खडा होलान्। अनि आफ्नो परमेश्वरको नाम पुकारेर त्यस ठाउँमा आफ्नो हात राखेर मलाई मेरो कुष्ठरोगबाट निको पार्लान् भनी सोचेको थिएँ। 12 के दमस्कसका अमाना र फारपर नदीहरू इस्राएलका कुनै नदीहरूभन्दा असल छैनन् र? के म तिनमा नै नुहाएर शुद्ध हुन सक्दिनँ र?" यसकारण तिनी रिसाएर फर्किहाले।
13 नामानका सेवकहरूले तिनीकहाँ गएर भने, "मेरा पिता, यदि अगमवक्ताले तपाईंलाई कुनै महान् काम गर्न लगाएका भए के तपाईंले त्यो गर्नुहुनेथिएन र? तिनले, ‘नदीमा डुबुल्की मार्नुहोस् र शुद्ध हुनुहोस्’ मात्र भनेका छन्, झन् तपाईंले किन नगर्ने त?" 14 यसकारण तिनी तल ओर्लेर परमेश्वरका जनले तिनलाई भनेझैँ यर्दन नदीमा सातपल्ट डुबुल्की मारे। अनि उनको मासु एउटा जवान बालकको जस्तै स्वस्थ र शुद्ध भयो।