Publicidade

Apocalipse 5

चर्मपत्र र थुमा

1 त्यसपछि मैले सिंहासनमा बस्‍नुहुनेको दाहिने हातमा एउटा चर्मपत्र देखेँ, जसको दुवैतिर लेखिएको थियो; र सात वटा मोहरहरूले बन्द गरिएको थियो। 2 अनि मैले एउटा बलवान् स्वर्गदूतलाई देखेँ, जसले चर्को सोरले यसरी घोषणा गर्दैथिए, "यी मोहरहरू तोडेर चर्मपत्र खोल्ने योग्यको को छ?" 3 तर स्वर्गमा अथवा पृथ्वीमा वा पृथ्वीमुनि भएका कसैले पनि त्यस चर्मपत्रलाई खोल्न र पढ्न सकेनन्। 4 म रोइरहेँ किनकि त्यस चर्मपत्र खोल्ने र पढ्ने योग्यको कोही पनि पाइएन। 5 तब धर्मगुरुहरूमध्ये एक जनाले मलाई भने, "नरोऊ! हेर, यहूदाको कुलको सिंह, दावीदको सिंहासनको उत्तराधिकारी यो चर्मपत्र र यी सात वटा मोहरहरू खोल्न विजयी हुनुभएको छ।"

6 तब मैले मारिनुभएको थुमाजस्तो कसैलाई सिंहासनको बीचमा उभिरहनुभएको देखेँ, जसको चारैतिर चार वटा जीवित प्राणीहरू र धर्मगुरुहरू थिए। थुमाका सात वटा सिङहरू अनि सात वटा आँखाहरू थिए; जुनचाहिँ संसारभरि पठाइएका परमेश्‍वरका सात आत्माहरू हुन्। 7 थुमाले सिंहासनमा बस्‍नुहुनेको दाहिने हातबाट त्यो चर्मपत्र लिनुभयो। 8 अनि जब त्यो लिनुभयो, तब ती चार वटा जीवित प्राणीहरू र चौबीसजना प्रधानहरू त्यस थुमाको सामु घोप्टो परे। प्रत्येकसित एउटा वीणा थियो, र तिनीहरूले धूपले भरिएका सुनका धुपौराहरू पक्रेका थिए, जुन सन्तहरूका प्रार्थना हुन्। 9 अनि तिनीहरूले एउटा नयाँ गीत गाए:

"तपाईं यो चर्मपत्र लिने

र त्यसका छापहरू खोल्ने योग्यको हुनुहुन्छ;

किनकि तपाईं मारिनुभएको थियो;

अनि तपाईंको रगतद्वारा तपाईंले मानिसहरूलाई

प्रत्येक कुल र भाषाबाट जातिहरूलाई

र राष्ट्रहरूलाई परमेश्‍वरको निम्ति किन्‍नुभयो।

10 तपाईंले तिनीहरूलाई हाम्रा परमेश्‍वरको सेवा गर्नलाई

राज्य र पुजारीहरू बनाउनुभयो;

अनि तिनीहरूले संसारमा राज्य गर्नेछन्।"

11 तब मैले दर्शनमा सिंहासन, जीवित प्राणीहरू र प्रधानहरूका वरिपरि असंख्य स्वर्गदूतहरूका सोर सुनेँ। तिनीहरूको संख्या लाखौँ र करोडौँ थियो। 12 चर्को सोरमा तिनीहरूले यो गीत गाए:

"मारिनुभएको थुमा,

शक्ति, वैभव, बुद्धि, बल, आदर,

महिमा र प्रशंसा पाउन योग्यका हुनुहुन्छ!"

13 तब मैले स्वर्गमा, पृथ्वीमाथि, पृथ्वीमुनि र समुद्रमा भएका समस्त प्राणीहरूले यो गीत गाइरहेका सुनेँ:

"सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई

प्रशंसा, आदर, महिमा र शक्ति

सदासर्वदा भइरहोस्!"

14 चार जीवित प्राणीहरूले भने, "आमेन," अनि प्रधानहरूले घोप्टो परेर उहाँलाई आराधना गरे।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-