Publicidade

Apocalipse 7

1,44,000 लाई छाप लगाइएको

1 यसपछि मैले चार जना स्वर्गदूतहरूलाई पृथ्वीको चार कुनामा उभिरहेका देखेँ, जसले जमिनमा, समुद्रमा अथवा कुनै रूखमा कतैबाट पनि बतास नचलोस् भनेर रोक्नलाई पृथ्वीका चारै वटा बतासलाई रोकिराखेका थिए। 2 तब मैले जीवित परमेश्‍वरको छाप लिएर अर्को स्वर्गदूतलाई पूर्वबाट उक्लिरहेको देखेँ। उनले जमिन र समुद्रलाई हानि गर्ने अख्तियार पाएका चार जना स्वर्गदूतहरूलाई जोडसित भने, 3 "जबसम्म हामीले परमेश्‍वरका सेवकहरूका निधारहरूमा छाप लगाइसक्दैनौँ, तबसम्म जमिन, समुद्र अथवा रूखहरूलाई हानि नगर्नू।" 4 तब मैले छाप पाएकाहरूको संख्या सुनेँ, अर्थात् तिनीहरू इस्राएलका सबै कुलहरूबाट 1,44,000 थिए।

5 यहूदाको कुलबाट 12,000 लाई छाप लगाइयो।

रूबेनको कुलबाट 12,000 लाई,

गादको कुलबाट 12,000 लाई,

6 आशेरको कुलबाट 12,000 लाई,

नप्‍तालीको कुलबाट 12,000 लाई,

मनश्शेको कुलबाट 12,000 लाई,

7 शिमियोनको कुलबाट 12,000 लाई,

लेवीको कुलबाट 12,000 लाई,

इस्साखारको कुलबाट 12,000 लाई,

8 जबूलूनको कुलबाट 12,000 लाई,

योसेफको कुलबाट 12,000 लाई,

बेन्यामीनको कुलबाट 12,000 लाई छाप लगाइयो।

सेतो वस्त्र लगाएका ठूलो भीड

9 त्यसपछि मैले प्रत्येक राष्ट्र, कुल, जाति र भाषाबाट कसैले गन्‍न नसक्ने एउटा ठूलो भीडलाई सिंहासनको र थुमाको सामु उभिरहेका देखेँ। तिनीहरूले पाउसम्मै लामो सेतो वस्त्र पहिरेका र हातमा खजूरका हाँगाहरू लिएका थिए। 10 तिनीहरू चर्को सोरमा कराए:

"सिंहासनमा विराजमान हुनुहुने,

हाम्रा परमेश्‍वर र थुमामा मुक्ति छ।"

11 सबै स्वर्गदूतहरू सिंहासन, प्रधानहरू र चार वटा जीवित प्राणीहरूका वरिपरि उभिरहेका थिए। तिनीहरू सिंहासनको सामु घोप्टो परे, र यसो भन्दै परमेश्‍वरलाई आराधना गरे,

12 "आमेन!

हाम्रा परमेश्‍वरलाई प्रशंसा,

महिमा, बुद्धि, धन्यवाद,

आदर, शक्ति र बल

सदासर्वदा भइरहोस्।

आमेन!"

13 तब प्रधानहरूमध्ये एक जनाले मलाई सोधे, "यी सेता वस्त्र पहिरनेहरू को हुन् र कहाँबाट आएका हुन्?"

14 तब मैले उत्तर दिएँ, "हजुर, तपाईं नै जान्‍नुहुन्छ।"

अनि तिनले भने, "यी तिनीहरू हुन्, जो महासङ्कष्‍टबाट निस्केर आएका छन्; तिनीहरूले आफ्ना वस्त्रहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्। 15 यसकारण,

"तिनीहरू परमेश्‍वरको सिंहासनको सामु छन्;

अनि तिनीहरू उहाँको मन्दिरमा दिनरात उहाँको सेवा गर्छन्;

अनि सिंहासनमा बस्‍नुहुनेले

आफ्नो उपस्थितिले तिनीहरूलाई शरण दिनुहुनेछ।

16 ‘तिनीहरू फेरि कहिल्यै भोकाउने छैनन्;

तिनीहरू फेरि कहिल्यै तिर्खाउनेछैनन्।

तिनीहरूलाई सूर्यको प्रचण्ड तापले पोल्नेछैन।’

17 किनकि सिंहासनको बीचमा हुनुहुने थुमा

तिनीहरूका गोठाला हुनुहुनेछ;

‘उहाँले तिनीहरूलाई जिउँदो पानीको स्रोतसम्म डोर्‍याउनुहुनेछ।’

‘अनि परमेश्‍वर आफैँले तिनीहरूका आँखाहरूबाट सबै आँसुहरू पुछिदिनुहुनेछ।’"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-