25 मध्यराततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरको भजन गाइरहेका थिए। अनि त्यहाँका अरू बन्दीहरूले चाहिँ सुनिरहेका थिए। 26 अकस्मात् एउटा ठूलो भूकम्प आयो, र झ्यालखानाका जगहरू हल्लिन थाले। तुरुन्तै त्यसका सबै ढोकाहरू खोलिए र सबै बन्दीहरूका बन्धनहरू पनि खोलिए। 27 झ्यालखानाका प्रमुख निद्राबाट बिउँझे। जब तिनले झ्यालखानाका ढोकाहरू खोलिएका देखे, तब तिनले आफ्नो तरवार म्यानबाट थुतेर आफैँलाई मार्न खोजे। किनकि तिनले सबै बन्दीहरू भागे होलान् भनी ठानेका थिए। 28 तर त्यो देखेर पावल ठूलो सोरले कराए, "आफूलाई केही हानि नगर्नुहोस्; किनकि हामी सबै यहीँ नै छौँ!"
29 तब ती झ्यालखानाका प्रमुख बत्ती बालेर दगुर्दै भित्र गए। अनि पावल र सिलासको सामु डरले थरथर काम्दै घोप्टो परे। 30 त्यसपछि तिनीहरूलाई बाहिर ल्याएर तिनले सोधे, "आदरणीय जनहरू हो, मुक्ति पाउनका निम्ति मैले के गर्नुपर्छ?"
31 तिनीहरूले जवाफ दिए, "प्रभु येशूमा विश्वास गर्नुहोस्, तपाईं र तपाईंका परिवारले उद्धार पाउनुहुनेछ।" 32 त्यसपछि पावल र सिलासले तिनलाई र तिनका घरमा भएका सबै जनालाई प्रभुको वचन सुनाए। 33 रातको त्यस पहरमा ती झ्यालखानाका प्रमुखले तिनीहरूलाई बाहिर लगेर तिनका घाउहरू धोइदिए। अनि तिनी र तिनका परिवारले तुरुन्तै बप्तिस्मा लिए। 34 झ्यालखानाका प्रमुखले आफ्नो घरमा तिनीहरूलाई ल्याए, र तिनीहरूका अगाडि भोजन राखिदिए। तिनी अब आनन्दले भरिए; किनकि तिनी र तिनका पूरा परिवारले परमेश्वरमा विश्वास गरेका थिए।