ख्रीष्टको सर्वश्रेष्ठता
15 ख्रीष्ट अदृश्य परमेश्वरका प्रतिरूप, सारा सृष्टिमा ज्येष्ठ हुनुहुन्छ। 16 किनकि उहाँमा नै सबै थोकहरू सृष्टि भएका थिए: स्वर्गमा र पृथ्वीमा भएका थोकहरू, देखिने र नदेखिने, सिंहासनहरू होस् वा शक्तिहरू वा शासकहरू वा अधिकारीहरू; सबै उहाँद्वारा र उहाँकै निम्ति सृष्टि गरिएका हुन्। 17 उहाँ सबै थोकभन्दा अगाडि हुनुहुन्छ, र सबै थोक उहाँमा नै एकसाथ मिलेर रहेका छन्। 18 उहाँ मण्डलीका शिर हुनुहुन्छ, र मण्डलीचाहिँ उहाँको शरीर हो। हरेक थोकमा उहाँको सर्वश्रेष्ठता होस् भनेर उहाँ नै आदि हुनुहुन्छ; मरेकाहरूबाट जीवित हुनेहरूमा ज्येष्ठ हुनुहुन्छ। 19 किनकि उहाँको सारा परिपूर्णता ख्रीष्टमा बास भएकोमा परमेश्वर प्रसन्न हुनुभयो। 20 अनि उहाँद्वारा परमेश्वरले सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो। उहाँले क्रूसमा बगाउनुभएको ख्रीष्टको रगतको माध्यमद्वारा स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरूमा शान्ति गराउनुभयो।