Publicidade

Daniel 1

बेबिलोनमा दानिएलको तालिम

1 यहूदाका राजा यहोयाकीमको शासनकालको तेस्रो वर्षमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आए र त्यसलाई घेरा हाले। 2 अनि प्रभुले यहूदाका राजा यहोयाकीमलाई परमेश्‍वरको भवनका केही भाँडाकुँडाहरूसहित तिनको हातमा सुम्पिदिनुभयो। तिनले ती सामानहरू बेबिलोनमा भएको आफ्नो देवताको मन्दिरमा लगे र ती भाँडाकुँडाहरू आफ्ना देवताकै भण्डारमा राखे।

3 त्यसपछि राजाले आफ्ना दरबारका अधिकारीहरूका प्रमुख अशपनजलाई इस्राएली मानिसहरूका राजकीय परिवारबाट र प्रमुख मानिसहरूबाट केही व्यक्तिहरूलाई राजाको सेवाको निम्ति ल्याउनू भनी हुकुम गरे— 4 जो शारीरिक खोट नभएका जवान मानिसहरू, सुन्दर, सबै किसिमका बुद्धि प्राप्‍त गर्न सक्ने रुचि भएका, सबै कुराको ज्ञान भएका, छिटो सिक्न सक्ने र राजाको राजदरबारमा सेवा गर्न योग्यका होऊन्। अशपनजले तिनीहरूलाई बेबिलोनीहरूका भाषा र साहित्य सिकाउनुपर्ने थियो। 5 राजाले तिनीहरूलाई दैनिक भोजनका निम्ति राजाकै टेबुलबाट खाना र दाखमद्य दिनलाई आदेश दिएका थिए। तिनीहरूले तीन वर्षसम्म तालिम प्राप्‍त गर्नुपर्नेथियो; अनि त्यसपछि तिनीहरू राजाको सेवामा प्रवेश हुनुपर्नेथियो।

6 चुनिएकाहरूमध्ये यहूदाका कुलका दानिएल, हनन्याह, मिशाएल र अजर्याह थिए। 7 प्रमुख अधिकारी अशपनजले तिनीहरूलाई नयाँ नाम दिए: दानिएललाई बेलतसजर, हनन्याहलाई शद्रक, मिशाएललाई मेशक र अजर्याहलाई अबेद्नगो।

8 तर दानिएलले राजकीय भोजन र दाखमद्यले आफूलाई अशुद्ध नतुल्याउने अठोट गरे; यसकारण तिनले आफूलाई अशुद्ध पार्नु नपरोस् भनी प्रमुख अधिकारीसँग अनुमति मागे। 9 परमेश्‍वरले त्यस अधिकारीलाई दानिएलप्रति निगाह र कृपा देखाउने तुल्याउनुभएको थियो; 10 तर त्यस अधिकारीले दानिएललाई भने, "मलाई मेरा आदेश दिने राजा, मेरा मालिकदेखि म डराउँछु, जसले तिमीहरूलाई राजकीय भोजन र दाखमद्यका सम्बन्धमा मलाई खटाउनुभएको छ। तिमीहरूका उमेरका अरू जवान मानिसहरूभन्दा तिमीहरू किन खराब अवस्थाका देखिनु र? तिमीहरूका कारणले गर्दा राजाले मेरो ज्यान लिनुहुनेछ।"

11 तब दानिएल, हनन्याह, मिशाएल र अजर्याहमाथि प्रमुख अधिकारी अशपनजले खटाएको सुरक्षाकर्मीलाई दानिएलले भने, 12 "बिन्ती गर्दछु, तपाईंका सेवकहरूलाई दश दिनसम्म जाँचेर हेर्नुहोस्: हामीलाई खानका लागि सागपात र पिउनका लागि पानी मात्र दिनुहोस्। 13 त्यसपछि हामीलाई राजकीय भोजन खाने ती जवान मानिसहरूसित दाँजेर हेर्नुहोस्; अनि तपाईंले देख्नुभएअनुसार आफ्ना सेवकहरूसित व्यवहार गर्नुहोस्।" 14 यसकारण सुरक्षाकर्मी यस कुरामा राजी भए, र तिनले उनीहरूलाई दश दिनसम्म जाँच गरे।

15 दश दिन बितेपछि राजकीय भोजन खाने ती जवान मानिसहरूभन्दा तिनीहरू स्वस्थ र हृष्‍टपुष्‍ट देखिए। 16 यसकारण त्यस सुरक्षाकर्मीले तिनीहरूले खानुपर्ने राजकीय भोजन र पिउनुपर्ने दाखमद्य हटाए; अनि त्यसको सट्टा तिनीहरूलाई सागपात दिए।

17 ती चार जवान मानिसहरूलाई परमेश्‍वरले सबै किसिमका साहित्य र शिक्षाको ज्ञान र समझशक्ति दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाका अर्थ खोल्न सक्ने भए।

18 राजाले तिनीहरूलाई आफ्नो सेवामा ल्याउन तोकेको समयको अन्तमा, ती प्रमुख अधिकारी अशपनजले तिनीहरूलाई नबूकदनेसरकहाँ प्रस्तुत गरे। 19 राजाले तिनीहरूसँग कुरा गरे; अनि अरू कसैलाई पनि दानिएल, हनन्याह, मिशाएल र अजर्याहको बराबर भेट्टाएनन्; यसकारण तिनीहरू राजाको सेवा गर्नलाई नियुक्त भए। 20 राजाले तिनीहरूलाई बुद्धि र समझको बारेमा जस्तोसुकै प्रश्न सोधे तापनि राजाले तिनीहरूलाई आफ्ना राज्यभरि भएका सबै जादुगर र तन्त्रमन्त्र गर्नेहरूभन्दा दश गुणा असल भेट्टाए।

21 अनि कोरेस राजाको शासनकालको पहिलो वर्षसम्म बेबिलोनको राजकीय सेवामा दानिएल रहिरहे।

Veja também

Publicidade
Daniel
Ver todos os capítulos de Daniel
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-