Publicidade

Daniel 10

दानिएलले दर्शनमा देखेका मानिस

1 परसीयाका राजा कोरेसको शासनकालको तेस्रो वर्षमा, दानिएललाई (जसलाई बेलतसजर भनिन्छ) एउटा दर्शन दिइयो। यस दर्शनको सन्देश सत्य थियो, र त्यो एउटा ठूलो युद्धसँग सम्बन्धित थियो। तिनले त्यस सन्देशको अर्थ दर्शनमा पाए।

2 त्यस बेला म, दानिएलले तीन हप्‍तासम्म शोक गरिरहेँ। 3 मैले कुनै पनि मिठो भोजन खाइनँ; मासु अथवा दाखमद्य मेरो मुखमा परेन; अनि मैले तीन हप्‍ता नबितेसम्म कुनै पनि तेल प्रयोग गरिनँ।

4 पहिलो महिनाको चौबीसौँ दिनमा, म महानदी टाइग्रिसको किनारमा उभिरहेको थिएँ; 5 मैले मास्तिर हेरेँ; अनि मेरो सामु सुती कपडा लगाएका र कम्मरमा निखुर सुनको पटुका बाँधेका एक जना मानिस थिए। 6 तिनको शरीर पीतमणिजस्तो, तिनको अनुहार बिजुलीजस्तो चम्किलो, तिनका आँखाहरू आगोका राँकाहरूजस्ता, तिनका पाखुराहरू र खुट्टाहरू टल्काइएको काँसाजस्तो चम्किलो र तिनको आवाज धेरै मानिसहरूका भीडको आवाजजस्तै थियो।

7 म, दानिएलले मात्र त्यो दर्शन देखेँ; मसित भएका मानिसहरूले त्यो दर्शन देखेनन्, तर तिनीहरू यति साह्रै त्रसित भए, कि तिनीहरू भागे र आफैँ लुके। 8 यसकारण त्यो महान् दर्शनलाई एकोहोरो हेरिरहने म मात्र एकलै छोडिएँ; ममा कुनै बल बाँकी रहेन; मेरो अनुहार मरेतुल्य पहेँलो भयो र म असहाय भएँ। 9 तब मैले तिनले बोलिरहेका सुनेँ, जब मैले तिनको आवाज सुनेँ, तब म बेहोश भई भुइँमा घोप्टो परेर लडेँ।

10 तब एउटा हातले मलाई छोयो, र म डरले काम्दै गरेको अवस्थामा मेरा हात र घुँडामा उभ्याए। 11 तिनले मलाई भने, "हे दानिएल, जो अति सम्मानित छौ, मैले तिमीलाई भन्‍न लागेका कुराहरू ध्यानपूर्वक विचार गर; अनि खडा होऊ; किनकि अहिले म तिमीकहाँ पठाइएको हुँ।" जब तिनले मलाई यसो भने, तब म थरथर काम्दै उभिएँ।

12 तब तिनले आफ्नो कुरा फेरि भने, "दानिएल, तिमी नडराऊ। तिमीले समझशक्ति पाउनलाई र परमेश्‍वरको सामु आफूलाई नम्र तुल्याउनलाई आफ्नो मनमा ठानेको पहिलो दिनमै तिम्रा कुराहरू सुनिएका थिए; अनि म तिम्रो प्रार्थनाको प्रत्युत्तरमा आएको हुँ। 13 तर परसीया देशको राजकुमारले मलाई एक्‍काइस दिनसम्म रोकिराखे। तब प्रमुख राजकुमारहरूमध्ये एक जना मिखाएल मलाई सहायता गर्न आए; किनकि म त्यहाँ परसीयाको राजासँग रोकिएको थिएँ। 14 अब भविष्यमा तिम्रो जातिलाई के हुनेछ भनी तिमीलाई बुझाउनलाई म आएको हुँ; किनकि यो दर्शनचाहिँ धेरै दिनपछि आउने कुरासँग सम्बन्धित छ।"

15 जब तिनले मलाई यसो भनिरहेका थिए, तब मैले आफ्नो अनुहार भुइँतिर निहुराएँ, र केही बोल्न सकिनँ। 16 तब मानिसको पुत्रझैँ देखिने एक जनाले मेरा ओठ छोए; अनि मैले मेरो आफ्नो मुख खोलेँ र बोल्न सक्ने भएँ। अनि मेरो सामु उभिएकालाई भनेँ, "हे मेरा प्रभु, दर्शनको कारणले गर्दा म पीडाग्रस्त भएको छु; अनि म धेरै कमजोर महसुस गरिरहेको छु। 17 मेरो प्रभु, म तपाईंको सेवकले तपाईंसँग कसरी कुरा गर्न सक्छु? मेरो कुनै बल छँदैछैन; मलाई सास फेर्न पनि मुश्किल परेको छ।"

18 फेरि ती मानिसको जस्तो रूप देखिने व्यक्तिले मलाई छोए र मलाई बलियो पारे। 19 अनि तिनले भने, "हे अति सम्मानित मानिस, नडराऊ! तिमीलाई शान्ति होस्! अब बलियो होऊ; साहसी होऊ।"

जब तिनी मसँग बोले, तब मैले बल पाएँ, र तिनलाई भनेँ, "मेरा प्रभु, मसँग बोल्नुहोस्; किनकि हजुरले मलाई बल दिनुभएको छ।"

20 यसकारण तिनले भने, "के तिमी जान्दछौ, म तिमीकहाँ किन आएको हुँ? म चाँडै परसीयाको राजकुमारको विरुद्धमा लडाइँ गर्न फर्कनेछु; अनि जब म जान्छु, ग्रीसको शासक आउनेछ; 21 तर पहिले म तिमीलाई सत्यको पुस्तकमा के लेखिएको छ, सो भन्‍नेछु। (मलाई तिनीहरूका विरुद्धमा लड्नलाई तिम्रा राजकुमार मिखाएलबाहेक कसैले साथ दिँदैनन्।

Veja também

Publicidade
Daniel
Ver todos os capítulos de Daniel
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-