Pular para o conteúdo
Publicidade

व्यवस्था 14

शुद्ध र अशुद्ध खानेकुरा

1 तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरका सन्तान हौ। मरेकाहरूका निम्ति शोक मनाउन तिमीहरूले आफूलाई नकाट्नू वा आफ्नो शिरको अगाडिको कपाल नखौरनू; 2 किनकि तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति एक पवित्र जाति हौ। सारा पृथ्वीभरिका सबै जातिहरूबाट याहवेहले तिमीहरूलाई उहाँको निज सम्पत्ति हुन चुन्‍नुभएको छ।

3 कुनै पनि घृणित चीज नखाओ। 4 तिमीहरूले यी पशुहरू खान सक्छौ: गोरु, भेडा, बाख्रा, 5 मृग, बराँठ, हरिण, जङ्गली बाख्रा, पहाडी बाख्रा, चित्तल र हिमाली भेडा।14:5 यो अध्यायमा भएका केही चराचुरुङ्गी र जनावरहरूको स्पष्‍ट पहिचान निश्‍चित छैन। 6 पशुहरूमध्ये दुई भागमा खुर चिरिएको र उग्राउने पशुजति खान सक्छौ। 7 तरै पनि उग्राउने पशुहरूमध्ये तिमीहरूले ऊँट, खरायो वा शापान नखानू। यद्यपि तिनीहरूले उग्राएर खाए तापनि तिनीहरूका खुर चिरिएका हुँदैनन्। तिनीहरू तिमीहरूका निम्ति विधिपूर्वक अशुद्ध हुन्। 8 सुँगुर पनि अशुद्ध हो; यद्यपि त्यसका खुर चिरिएको हुन्छ; तर त्यसले उग्राउँदैन। तिमीहरूले त्यसको मासु नखाओ, अथवा त्यसको सिनो नछोओ।

9 पानीमा भएका सबै प्राणीहरूमध्ये पखेटा र कत्ला भएकाहरू तिमीहरूले खान सक्छौ। 10 तर तिमीहरूले पखेटा र कत्ला नभएका पानीका कुनै पनि प्राणी नखानू; तिमीहरूका निम्ति यी अशुद्ध हुन्।

11 कुनै पनि शुद्ध चरा तिमीहरूले खान सक्छौ। 12 तर तिमीहरूले यी चराहरू नखानू: गरुड, गिद्ध, कालो गिद्ध, 13 रातो चील, कालो चील, सबै जातका बाज, 14 सबै किसिमका काग, 15 शुतुरमुर्ग, उल्‍लु र समुद्री चरो, सबै किसिमका बाज, 16 सानो उल्‍लु, विशाल उल्‍लु, सेतो उल्‍लु, 17 मरुभूमिको उल्‍लु, समुद्री बाज, माछा खाने चील, 18 सारस, सबै किसिमका बकुल्‍ला, फाप्रेचरो र चमेरो।

19 सबै उड्ने किराफट्याङ्ग्रा तिमीहरूका निम्ति अशुद्ध हुन्; तिनीहरूलाई नखाओ। 20 तर पखेटा भएका कुनै पनि शुद्ध प्राणी तिमीहरूले खान सक्छौ।

21 मरिसकेको कुनै पनि पशुप्राणी तिमीहरूले नखाओ। त्यो तिमीहरूले आफ्ना सहरमा बस्‍ने विदेशीलाई दिन सक्छौ। अनि त्यसले त्यो खान सक्छ, अथवा त्यो तिमीहरूले कुनै विदेशीलाई बेच्न सक्छौ। तर तिमीहरू आफ्ना याहवेह परमेश्‍वरका निम्ति एउटा पवित्र जाति हौ।

तिमीहरूले बाख्राको पाठो, त्यसको मासुलाई माउको दूधमा नपकाउनू।

दशांश

22 तिमीहरूका जमिनबाट उब्जाएका सबै कुराहरूको दशांश प्रत्येक वर्ष छुट्याउन नबिर्सनू। 23 तिमीहरूका अन्‍न, नयाँ दाखमद्य, जैतुन तेल अनि तिमीहरूका बथान र बगालहरूका पहिला जन्मेका पशुहरूका दशांश याहवेह तिमीहरूका परमेश्‍वरको उपस्थितिमा उहाँले आफ्नो नामको खातिर चुन्‍नुहुने ठाउँमा खानू, ताकि तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरलाई सधैँ आदर गर्न सिक्न सक। 24 तर यदि त्यो ठाउँ धेरै टाढा छ, र याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यति धेरै आशिष् दिनुभएको छ कि तिमीहरूले आफ्ना दशांश बोकेर लैजान सकेनौ भने (याहवेहले आफ्नो नाम राख्नका लागि चुन्‍नुहुने ठाउँ अति टाढो भएको कारण), 25 तब तिमीहरूले आफ्ना दशांश चाँदीसँग साट्नू, र त्यो चाँदी आफूसँग लिएर याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुहुने ठाउँमा जानू। 26 तिमीहरूको मनपर्ने कुरा किन्‍न त्यस चाँदीलाई प्रयोग गर्न सक्छौ—गाईबस्तु, भेडा, दाखमद्य वा अरू मद्य वा तिमीहरूलाई इच्छा लागेअनुसार कुनै पनि कुरा। तब त्यहाँ याहवेह तिमीहरूका परमेश्‍वरको उपस्थितिमा तिमीहरू सपरिवार खाएर आनन्द मनाउनू। 27 अनि तिमीहरूका सहरहरूमा बास गर्ने लेवीहरूलाई नबिर्सनू; किनकि तिनीहरूका आफ्ना व्यक्तिगत कुनै अंश अथवा उत्तराधिकारको भाग छैन।

28 प्रत्येक तेस्रो वर्षको अन्त्यमा त्यस वर्षको उब्जनीको सबै दशांशहरू ल्याएर तिमीहरूका सहरहरूमा जम्मा गर्नू, 29 ताकि लेवीहरू, जसको आफ्नै अंश र उत्तराधिकारको भाग छैन, र तिमीहरूका सहरहरूमा बसेका विदेशीहरू, अनाथ र विधवाहरूले आएर अघाउन्जेल खाऊन्; र याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै कामहरूमा तिमीहरूलाई आशिष् देऊन्।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.