Publicidade

Deuteronômio 30

याहवेहतिर फर्केपछिको उन्‍नति

1 जब मैले तिमीहरूका सामु राखिदिएका यी सबै आशिष् र श्रापहरू तिमीहरूमाथि आइपर्नेछन्, तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जातिहरूका बीचमा छरपस्ट पार्नुभएपछि तिमीहरूले ती हृदयमा लिनेछौ। 2 अनि जब तिमीहरू र तिमीहरूका छोराछोरीहरू याहवेह आफ्ना परमेश्‍वरकहाँ फर्कनेछौ, र आज मैले तिमीहरूलाई आज्ञा दिएअनुसार हरेक कुरामा आफ्ना सारा हृदयले र आफ्ना सारा प्राणले उहाँका आज्ञाहरू पालन गर्छौ, 3 तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका सुदिन फर्काइदिनुहुनेछ, र तिमीहरूमाथि दया देखाउनुहुनेछ। अनि उहाँले तिमीहरूलाई छरपस्ट पार्नुभएका सबै जातिहरूका बीचबाट फेरि भेला गराउनुहुनेछ। 4 तिमीहरू पृथ्वीका धेरै टाढा-टाढाका देशमा धपाइएका भए तापनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई त्यहाँबाट भेला गराएर तिमीहरूलाई फर्काइ ल्याउनुहुनेछ। 5 याहवेहले तिमीहरूलाई तिमीहरूका पितापुर्खाहरूका देशमा ल्याउनुहुनेछ, र त्यस देशमा तिमीहरूले अधिकार गर्नेछौ। उहाँले तिमीहरूलाई तिमीहरूका पितापुर्खाहरूभन्दा अझै धेरै समृद्ध र असंख्य बनाउनुहुनेछ। 6 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका र तिमीहरूका सन्तानहरूका हृदयको खतना गर्नुहुनेछ, जसले गर्दा तिमीहरूले उहाँलाई आफ्ना सारा हृदयले र आफ्ना सारा प्राणले प्रेम गर्न सक र त्यस देशमा तिमीहरू जीवित रहन सक। 7 याहवेह तिमीहरूका परमेश्‍वरले यी सबै श्रापहरू तिमीहरूलाई घृणा गर्ने र सताउने तिमीहरूका शत्रुहरूमाथि ल्याउनुहुनेछ। 8 तिमीहरूले याहवेहको वचन फेरि पालन गर्नेछौ, र आज मैले तिमीहरूलाई दिइरहेका उहाँका सबै आज्ञाहरूको अनुसरण गर्नेछौ। 9 तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै कामहरूमा र तिमीहरूका सन्तानमा, गाईबस्तुका बाछाबाछीहरूमा र जमिनका अन्‍नबालीहरूमा अति धेरै समृद्धि प्रदान गर्नुहुनेछ। याहवेह तिमीहरूका पितापुर्खाहरूसँग प्रसन्‍न हुनुभएझैँ तिमीहरूसँग फेरि प्रसन्‍न हुनुहुनेछ, र तिमीहरूलाई समृद्धि प्रदान गर्नुहुनेछ। 10 यदि तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ र व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र उर्दीहरू पालन गर्‍यौ भने, र यदि आफ्ना सारा हृदय र सारा प्राणले याहवेह तिमीहरूका परमेश्‍वरकहाँ फर्क्यौ भने उहाँ तिमीहरूसित प्रसन्‍न हुनुहुनेछ, र तिमीहरूलाई समृद्धि प्रदान गर्नुहुनेछ।

जीवन र मृत्युको प्रस्ताव

11 आज मैले तिमीहरूलाई जे आज्ञा दिइरहेको छु, यो तिमीहरूका निम्ति अति कठिन वा पालन गर्न नसक्ने किसिमको छैन। 12 यो आज्ञा स्वर्गमा राखिएको छैन, ताकि तिमीहरूले यसो भन्‍नुपरोस्, "स्वर्गमा उक्लिएर को जाला र यसलाई हामीकहाँ ल्याएर घोषणा गर्ला, र हामी यसलाई पालन गरौँला?" 13 न त यो समुद्रपारि नै छ, र तिमीहरूले यसो भन्‍नुपरोस्, "समुद्रपार गरेर यसलाई कसले ल्याउला, र हामीलाई घोषणा गर्ला, र हामी यसलाई पालन गरौँला।" 14 होइन, वचन त तिमीहरूको एकदम नजिकै छ; तिमीहरूकै मुखमा र तिमीहरूका हृदयमा छ, ताकि तिमीहरूले यसलाई पालन गर्न सक।

15 हेर, आज मैले तिमीहरूका अगि जीवन र समृद्धि, मृत्यु र विनाश राखिदिएको छु। 16 किनकि आज म तिमीहरूलाई आज्ञा दिन्छु, तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरलाई प्रेम गर्नू, उहाँका मार्गहरूमा हिँड्नू र उहाँका आज्ञाहरू, उर्दीहरू र नियमहरू पालन गर्नू; तब तिमीहरू जीवित रहनेछौ र संख्यामा बढ्नेछौ। अनि तिमीहरूले अधिकार गर्नलाई प्रवेश गरिरहेको देशमा याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ।

17 तर यदि तिमीहरूका हृदय तर्केर गयो र तिमीहरू अनाज्ञाकारी भयौ, र तिमीहरू अरू देवी-देवताहरूका अगि दण्डवत् गर्न र तिनीहरूलाई पुज्नलाई आकर्षित भयौ भने, 18 म आज तिमीहरूलाई यो घोषणा गर्दछु, तिमीहरू अवश्य नाश हुनेछौ। तिमीहरूले यर्दन पार गरेर अधिकार गर्न जाने देशमा तिमीहरू लामो समयसम्म जीवित रहनेछैनौ।

19 आजको दिन म आकाश र पृथ्वीलाई तिमीहरूको विरुद्धमा साक्षीको रूपमा राख्दछु, मैले तिमीहरूको अगि जीवन र मृत्यु, आशिष् र श्राप राखिदिएको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका छोराछोरीहरू जीवित रहन सक। 20 अनि तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरलाई प्रेम गर्न सक, उहाँको सोर सुन्‍न र उहाँमा लागिरहन सक। किनकि याहवेह नै तिमीहरूका जीवन हुनुहुन्छ; अनि उहाँले तिमीहरूका पितापुर्खाहरू अब्राहाम, इसहाक र याकोबसँग दिन्छु भनी शपथ खानुभएको देशमा उहाँले तिमीहरूलाई लामो जीवन दिनुहुनेछ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-