परमेश्वरको अन्तिम वचन: उहाँको पुत्र
1 बितेका समयमा परमेश्वर हाम्रा पुर्खाहरूसँग धेरै पटक विभिन्न प्रकारले अगमवक्ताहरूद्वारा बोल्नुभयो; 2 तर यी अन्तिम दिनहरूमा चाहिँ उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराहरूको उत्तराधिकारी बनाउनुभएको हो, जसद्वारा उहाँले समस्त विश्वलाई पनि बनाउनुभयो। 3 पुत्रचाहिँ परमेश्वरको महिमाको चमक र उहाँ परमेश्वरकै स्वभावको दुरुस्त प्रतिरूप हुनुहुन्छ, र उहाँले आफ्नो शक्तिशाली वचनद्वारा सबै थोकहरू सम्हाल्नुहुन्छ। उहाँले पापहरूका लागि शुद्धीकरणको प्रबन्ध मिलाउनुभयो, र उहाँ स्वर्गमा महामहिमको दाहिने हातपट्टि विराजमान हुनुभयो।