असल सामरीको दृष्टान्त
25 एक समयमा एक जना व्यवस्थाका विशेषज्ञ येशूको परीक्षा गर्न उठे, र उहाँलाई प्रश्न गरे, "गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?"
26 उहाँले भन्नुभयो, "व्यवस्थामा के लेखिएको छ? त्यसलाई तिमी कसरी पढ्छौ?"
27 तब तिनले जवाफ दिए: " ‘परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण बलले र सम्पूर्ण मनले प्रेम गर,’10:27 व्यव 6:5 र ‘आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर।’10:27 लेवी 19:18"
28 येशूले जवाफ दिनुभयो, "तिमीले ठिक जवाफ दियौ। त्यसै गर, र तिमी बाँच्नेछौ।"
29 तर तिनले आफूलाई धर्मी ठहराउने इच्छा गरेर येशूलाई सोधे, "त्यसो भए मेरो छिमेकी को हो त?"
30 जवाफमा येशूले भन्नुभयो: "एक जना मानिस यरूशलेमबाट यरीहोतिर ओर्लंदैथियो। त्यो डाँकुहरूको फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गै पारे, पिटे र अधमरो बनाएर छोडेर गए। 31 संयोगवश एउटा पुजारी त्यही बाटो भएर आयो, र त्यस अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो। 32 त्यसै गरी एउटा लेवी पनि त्यस ठाउँमा आइपुग्यो, र त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो। 33 तर एक जना सामरी10:33 जसलाई यहूदीहरूले अछुत झैँ मान्दथे। यात्रा गर्दागर्दै त्यो मानिस भएको ठाउँमा आइपुग्यो। त्यसलाई देखेर त्यस सामरीको मन दयाले भरियो। 34 अनि त्यो सामरी त्यसकहाँ गएर त्यसको घाउमा तेल र दाखमद्य लगाएर पट्टी बाँधिदियो। त्यसपछि उसले त्यस मानिसलाई आफ्नै गधामा चढाएर पौवामा लग्यो र त्यसको हेरचाह गर्यो। 35 भोलिपल्ट उसले चाँदीका दुई वटा सिक्का निकालेर पौवाका मालिकलाई दिँदै भन्यो, ‘यिनको हेरचाह गरिदेऊ। अरू बढी खर्च लागेछ भने म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु।’
36 "अब तिम्रो विचारमा यी तीन जनामध्ये कुनचाहिँ त्यो डाँकुहरूका हातमा पर्ने मानिसको छिमेकी ठहरियो?"
37 व्यवस्थाका ती विशेषज्ञले जवाफ दिए, "त्यही मानिस, जसले त्यस मानिसमाथि दया देखायो।"
येशूले तिनलाई भन्नुभयो, "जाऊ, र तिमी पनि त्यस्तै गर।"