22 तब हेरोदियासकी छोरी भित्र आएर नाची; अनि उसले हेरोद र तिनका भोजमा आएका पाहुनाहरूलाई खुशी पारी।
राजाले त्यस केटीलाई भने, "तिमी जे चाहन्छ्यौ, सो मसित माग, म तिमीलाई दिनेछु।" 23 अनि तिनले शपथ खाएर उसलाई वचन दिए, "तिमीले जे माग्छ्यौ, सो म तिमीलाई दिनेछु, मेरो आधा राज्यसम्म पनि दिनेछु।"
24 त्यसले गएर आफ्नी आमालाई सोधी, "म के मागूँ?"
तिनले जवाफ दिइन्, "बप्तिस्मा दिने यूहन्नाको शिर।"
25 त्यो केटी तुरुन्तै हतारिँदै भित्र राजाकहाँ गएर यो बिन्ती चढाई: "तपाईंले अहिल्यै बप्तिस्मा दिने यूहन्नाको शिर मलाई यस थालमा दिनुहोस् भन्ने म चाहन्छु।"
26 राजा अत्यन्तै दुःखित भए; तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उसलाई इन्कार गर्ने इच्छा गरेनन्। 27 यसकारण तिनले तुरुन्तै जल्लादलाई यूहन्नाको शिर ल्याउनू भनेर आज्ञा दिई पठाए। त्यो मानिस गयो, र झ्यालखानामा यूहन्नाको शिर काट्यो, 28 अनि तिनको शिर एउटा थालमा ल्यायो। तिनले त्यो त्यस केटीलाई दिए; अनि उसले त्यो आफ्नी आमालाई दिई।