येशू ख्रीष्टको जन्म
18 येशू ख्रीष्टको जन्म यसरी भयो: उहाँकी आमा मरियमको मगनी योसेफसित भएको थियो। तर तिनीहरूको विवाह हुनुभन्दा अगि नै यो थाहा भयो, कि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थिइन्। 19 तिनका पति योसेफ एक धर्मी मानिस भएका हुनाले र आफू समाजमा अपमान हुन नचाहेकाले, तिनलाई सुटुक्क त्यागिदिने विचार गरे।
20 तर ती दिनहरूमा योसेफले यस्तो विचार गरेपछि प्रभुका एउटा दूतले सपनामा तिनीकहाँ देखा परेर यसो भने, "दावीदको पुत्र योसेफ, मरियमलाई तिम्री पत्नीको रूपमा घर लैजान नडराऊ। किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। 21 तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाम येशू राख्नू। किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ।"