1 "त्यस समय स्वर्गको राज्य दश जना कन्याहरूजस्तो हुनेछ, जसले आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्न गए। 2 तीमध्ये पाँच जना निर्बुद्धिहरू र पाँच जना बुद्धिमतीहरू थिए। 3 ती निर्बुद्धिहरूले बत्तीहरू त लगे, तर तेल लगेनन्। 4 तर ती बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्तीहरूसित भाँडोमा तेल पनि लगे। 5 दुलहाले आउन ढिलो गरेकाले तिनीहरू सबैलाई निन्द्रा लाग्न थाल्यो, र भुसुक्क निदाए।
6 "मध्यरातमा एउटा आवाज सुनियो: ‘लौ दुलहा यहाँ आइपुगेका छन्! उनलाई भेट्न निस्किआओ!’
7 "तब सबै कन्याहरू उठे, र आफ्ना बत्तीहरू ठिक पारे। 8 ती निर्बुद्धिहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका तेलबाट केही देओ; किनकि हाम्रा बत्तीहरू निभ्दैछन्।’
9 "तिनीहरूले जवाफ दिए, ‘हुँदैन, सायद हामी र तिमीहरू दुवैका लागि यो प्रशस्त नहोला। बरु तेल बेच्नेहरूकहाँ जाओ, र आफ्ना लागि केही किन।’
10 "तर जब तिनीहरू तेल किन्न निस्के, तब दुलहा आइपुगिहाले। ती तयार रहेका कन्याहरू तिनीसित विवाहको भोजमा प्रवेश गरिहाले। अनि ढोका बन्द भयो।
11 "पछिबाट ती अरू पनि आए, र भने, ‘प्रभु! हे प्रभु! हाम्रा लागि ढोका खोलिदिनुहोस्!’
12 "तर तिनले जवाफ दिए, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, म तिमीहरूलाई चिन्दिनँ।’
13 "यसकारण जागा रहो; किनकि त्यो दिन र समय तिमीहरू जान्दैनौ।