12 किनकि यहूदी र गैरयहूदीमा केही भिन्नता छैन। उहाँ नै एउटै प्रभु, सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्ने सबैलाई प्रशस्तसँग आशिष् दिनुहुन्छ। 13 किनकि "प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।"10:13 योएल 2:32
14 तिनीहरूले विश्वास नै नगरेकोलाई कसरी पुकार्ने त? जसको बारेमा तिनीहरूले सुनेकै छैनन्, उहाँमाथि कसरी विश्वास गर्ने त? अनि कसैले तिनीहरूलाई प्रचार नै नगरी तिनीहरूले कसरी सुन्ने त? 15 अनि कसैले प्रचारकहरूलाई नपठाएसम्म कसरी प्रचार गर्लान् त? यस्तो लेखिएको छः "सुसमाचार ल्याउनेहरूका पाउ कति सुन्दर!"10:15 यशै 52:7
16 तर सबै इस्राएलीहरूले सुसमाचारलाई स्वीकार गरेनन्; किनकि यशैयाले यसरी भन्दछन्, "हे प्रभु, कसले हाम्रो समाचारलाई विश्वास गरेको छ?"10:16 यशै 53:1 17 यसैले विश्वास वचनको सुनुवाइबाट आउँछ, र सुनुवाइ ख्रीष्टको वचन प्रचारद्वारा आउँछ।