थुमा तथा 1,44,000 मानिसहरू
1 तब मैले हेरेँ, र मेरो सामु सियोन पर्वतमा थुमालाई उभिरहनुभएको देखेँ। उहाँसँग 1,44,000 लाई देखेँ, जसको निधारमा उहाँ र उहाँका पिताको नाम लेखिएको थियो। 2 तब मैले स्वर्गबाट जोडसित बग्दै गरेको पानी र ठूलो गर्जनजस्तो आवाज आइरहेको सुनेँ। मैले सुनेको आवाज वीणा वादकहरूले आफ्ना वीणाहरू बजाएको जस्तै थियो। 3 तिनीहरूले सिंहासनको सामु ती चार वटा जीवित प्राणीहरूको र प्रधानहरूको सामु एउटा नयाँ गीत गाए। पृथ्वीबाट छुटकारा पाएका ती 1,44,000 ले बाहेक कसैले पनि त्यो गीत सिक्न सक्दैनथे। 4 यी मानिसहरू ती हुन्, जो स्त्रीहरूसित बिटुलिएनन्; किनकि तिनीहरूले आफूलाई शुद्ध राखेका थिए। थुमा जहाँ जानुहुन्छ, तिनीहरूले उहाँलाई पछ्याउँछन्। तिनीहरू मानव जातिबाट किनिएका थिए; अनि परमेश्वर र थुमालाई पहिलो फलझैँ चढाइए। 5 तिनीहरूका मुखमा कुनै झूट पाइएन; तिनीहरू निर्दोष छन्।