सेतो घोडामा सवार हुनुहुने
11 मैले स्वर्ग उघ्रिएको देखेँ, र मेरो सामु एउटा सेतो घोडा थियो, जसको सवारलाई विश्वासयोग्य र सत्य भनिन्छ। उहाँले निष्पक्षसित न्याय र लडाइँ गर्नुहुन्छ। 12 उहाँका आँखाहरू बल्दैगरेको आगोजस्ता छन्, र उहाँका शिरमा धेरै मुकुटहरू छन्। उहाँमा एउटा नाम लेखिएको छ, जो उहाँबाहेक अरू कसैले जान्दैन। 13 उहाँले रगतमा चोपिएको एउटा पोशाक पहिरिनुभएको छ; अनि उहाँको नाम परमेश्वरको वचन हो। 14 सेता घोडाहरूमा सवार भएका, मिहिन सेता र स्वच्छ मलमलको वस्त्र पहिरेका स्वर्गीय सेनाहरूले उहाँलाई पछ्याइरहेका थिए। 15 राष्ट्रहरूलाई प्रहार गर्न उहाँको मुखबाट एउटा धारिलो तरवार निस्केको छ। "उहाँले फलामको राजदण्डले तिनीहरूमाथि शासन गर्नुहुनेछ।"19:15 भजन 2:9 उहाँले सर्वशक्तिमान् परमेश्वरको क्रोधको मद्यको कोल कुल्चनुहुनेछ। 16 उहाँको वस्त्र र तिघ्रामा यो नाम लेखिएको छ:
राजाहरूका राजा र प्रभुहरूका प्रभु।