जीवनको पानीको नदी
1 तब त्यस स्वर्गदूतले मलाई परमेश्वर र थुमाको सिंहासनबाट बग्दै निस्केको स्फटिकजस्तो स्वच्छ जीवनको पानीको नदी देखाए, 2 जुनचाहिँ सहरको मूल बाटोको बीचबाट बगिरहेको थियो। नदीका दुवैतिर प्रत्येक महिना बाह्र किसिमका फलहरू फलाउने जीवनको रूख थियो। ती रूखहरूका पातहरूचाहिँ राष्ट्रहरूलाई निको पार्नको लागि हुन्। 3 त्यहाँ अब उप्रान्त श्राप हुनेछैन; किनभने त्यस सहरमा परमेश्वरको र थुमाको सिंहासन हुनेछ; अनि उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछन्। 4 तिनीहरूले उहाँको अनुहार देख्नेछन्, र उहाँको नाम तिनीहरूका निधारमा हुनेछ। 5 अब उप्रान्त रात हुनेछैन। तिनीहरूलाई बत्तीको उज्यालो र सूर्यको उज्यालोको आवश्यकता पर्नेछैन; किनकि प्रभु परमेश्वरले नै तिनीहरूलाई उज्यालो दिनुहुनेछ। अनि तिनीहरूले सदासर्वदा राज्य गर्नेछन्।