Publicidade

Miquéias 6

इस्राएलको विरुद्धमा याहवेहको मुद्दा

1 याहवेहले के भन्‍नुहुन्छ, ध्यानसँग सुन:

"खडा होओ, पर्वतहरूका सामु मेरो मुद्दा पेश गर;

तिमीहरूले के भन्छौ, ती कुराहरू पहाड र पर्वतहरूले सुनून्।

2 "हे पर्वतहरू हो, याहवेहको अभियोग सुन,

हे पृथ्वीका अनन्तसम्म रहने जगहरू हो, ध्यान देओ।

किनकि याहवेहका मानिसहरूका विरुद्धमा उहाँको एउटा मुद्दा छ;

उहाँले इस्राएलका विरुद्धमा अभियोग लगाउँदैहुनुहुन्छ।

3 "हे मेरा मानिसहरू हो, मैले तिमीहरूलाई के गरेको छु?

कसरी मैले तिमीहरूलाई बोझ बोकाएको छु? मलाई जवाफ देओ।

4 मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ,

र तिमीहरूलाई दासत्वको देशबाट मोल तिरेर छुटाएँ।

तिमीहरूलाई अगुवाइ गर्नका निम्ति मैले मोशा,

हारून र मिरियमलाई पनि पठाएँ।

5 हे मेरा मानिसहरू हो,

मोआबको राजा बालाकले कस्तो युक्ति रचेको थियो,

र बओरको छोरा बालामले बालाकलाई कस्तो जवाफ दिएको थियो।

शित्तीमदेखि गिलगालसम्मको यात्रालाई याद गर,

ताकि तिमीहरूले याहवेहका धार्मिक कामहरूलाई बुझ्न सक।"

6 म के लिएर याहवेहको सामु आऊँ

र सर्वोच्‍च परमेश्‍वरको सामु दण्डवत् गरूँ?

के एक बर्से बाछाहरू लिएर

होमबलि चढाउनलाई म उहाँको सामु आऊँ?

7 के याहवेह हजारौँ भेडाहरू,

जैतुन तेलको दश हजार खोलाहरूसँग प्रसन्‍न हुनुहुन्छ र?

के म मेरो पापको निम्ति मेरो आफ्नै जेठो सन्तानलाई चढाऊँ?

मेरो आत्माको पापको निम्ति मेरो आफ्नै शरीरको फललाई चढाऊँ?

8 हे मानव-जाति, जे असल छ, त्यो उहाँले देखाउनुभएको छ।

अनि याहवेहले तँबाट के चाहनुहुन्छ?

केवल यति मात्र, न्यायपूर्वक काम गर्नू र दयालाई प्रेम गर्नू;

अनि नम्र भएर आफ्ना परमेश्‍वरसित हिँड्नू।

इस्राएलको दोष र सजाय

9 सुन! याहवेहले सहरलाई बोलाउँदैहुनुहुन्छ—

र तपाईंको नामको भय मान्‍नु बुद्धि हो,

अर्थात् "डण्डा र यसलाई नियुक्त गर्नेलाई ध्यान देओ।

10 हे दुष्‍ट घराना, तैँले दुष्‍ट तरिकाले कमाएको धन

र नापतौलमा छल गरेर कमाएको धनचाहिँ श्रापित छ, के म अझै बिर्सूं?

11 के छलको ढक चलाउने

र झूटा तराजुहरू राख्ने मानिसलाई म निर्दोष मानेर छोडिदिऊँ?

12 तेरा धनी मानिसहरू हिंसाले भरिएका छन्;

तेरा मानिसहरू झूट बोल्छन्

र तिनीहरूका जिब्राले छलका कुरा बोल्छन्।

13 यसकारण तेरा पापहरूको कारण,

तँलाई उजाड पार्न मैले सर्वनाश सुरु गरेको छु।

14 तिमीहरूले खानेछौ, तर तृप्‍त हुनेछैनौ;

तिमीहरूको पेट अझै भोकै रहनेछ।

तिमीहरूले भण्डारण त गर्नेछौ, तर केही पनि बचाउन सक्नेछैनौ;

किनकि तिमीहरूले जे बचत गर्छौ, म त्यो तरवारलाई दिनेछु।

15 तिमीहरू रोप्नेछौ, तर कटनी गर्नेछैनौँ;

तिमीहरूले जैतुनहरू पेल्नेछौ, तर तेल प्रयोग गर्नेछैनौँ;

तिमीहरू दाख पेल्नेछौ, तर दाखमद्य पिउनेछैनौँ।

16 तिमीहरूले ओम्रीका नियमहरू

र आहाबका घरानाका सबै विधिहरू पालन गरेका छौ;

तिमीहरूले तिनीहरूका परम्पराहरूलाई पछ्याएका छौ।

यसकारण म तिमीहरूलाई नाश गर्नलाई दिनेछु,

र तिमीहरूका मानिसहरूलाई गिल्‍लाको निम्ति दिनेछु;

तिमीहरूले राष्ट्रहरूको अपमान सहनेछौ।"

Veja também

Publicidade
Miquéias
Ver todos os capítulos de Miquéias
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-