Publicidade

Miquéias 7

इस्राएलको दुर्गति

1 मलाई कस्तो दुर्गति आइलागेको छ!

म दाखबारीमा ग्रीष्म ऋतुको

फल बटुल्ने मानिसजस्तै छु;

खानलाई कुनै अङ्‌गुरको झुप्पा नै छैन;

मैले चाहेको पहिलो नेभाराको फल एउटै पनि छैन।

2 धर्मी मानिसहरू देशबाट नष्‍ट भइसकेका छन्;

धर्मी एउटै पनि बाँकी छैन।

हरेक मानिस हत्या गर्न ढुकिबस्छन्;

तिनीहरू एक-अर्कालाई पासो थाप्छन्।

3 दुवै हातहरू दुष्‍ट काम गर्न सिपालु छन्;

शासकहरूले उपहारको माग गर्छन्,

न्यायकर्ताहरू न्यायालयमा घूस लिन्छन्;

शक्तिशालीहरू आफूले इच्छा लागेअनुसारको हुकुम चलाउँछन्;

तिनीहरू सबै जना मिलेर षड्यन्त्र रच्दछन्।

4 तिनीहरूमा सबैभन्दा असल मानिस पनि तीखो काँडाजस्तै छ,

सबैभन्दा सोझो पनि झाडीको काँडाभन्दा खराब छ।

परमेश्‍वरले तिमीहरूलाई भेट गर्ने समय आएको छ;

तिमीहरूका पहरेदारहरूका चेतावनीको आवाज आएको छ।

अहिले तिमीहरूको अन्योलको समय हो।

5 तिमीहरू आफ्नो छिमेकीमाथि भरोसा नगर;

न त मित्रमाथि नै विश्‍वास गर।

आफ्नो अँगालोमा सुत्ने पत्नीसँग बोल्दासमेत

होसियार भएर बोल।

6 किनकि छोराले आफ्नो बुबालाई अनादर गर्छ,

छोरी आफ्नै आमाको विरुद्धमा उठ्छे;

बुहारी आफ्नै सासूको विरुद्धमा—

मानिसका शत्रुहरू आफ्नै घरका सदस्यहरू हुन्छन्।

7 तर मचाहिँ याहवेहमा आशा लिएर प्रतीक्षा गर्छु;

म मेरो उद्धारकर्ता परमेश्‍वरलाई पर्खन्छु;

मेरा परमेश्‍वरले मेरो बिन्ती सुन्‍नुहुनेछ।

इस्राएल फेरि उठ्नेछ

8 हे मेरो शत्रु, मेरो खिसी नगर्!

म लडेको छु, तर पनि म खडा हुनेछु।

म अन्धकारमा छु,

तर पनि याहवेह मेरा निम्ति ज्योति हुनुहुनेछ।

9 किनकि मैले उहाँको विरुद्धमा पाप गरेको छु,

जबसम्म उहाँले मेरा निम्ति मुद्दा लड्नुहुन्‍न,

र मेरो अधिकार स्थापित गर्नुहुन्‍न,

तबसम्म म याहवेहको क्रोधलाई सहनेछु।

उहाँले मलाई निकालेर ज्योतिमा ल्याउनुहुनेछ;

म उहाँको धार्मिकतालाई हेर्नेछु।

10 त्यसपछि मेरा शत्रुले यो देख्नेछन्,

र तिनीहरू लज्जित हुनेछन्,

जसले मलाई यसो भनेकी थिई,

"याहवेह तेरो परमेश्‍वर कहाँ छन्?"

मेरो आँखाले त्यसको पतन देख्नेछ;

अहिले पनि त्यो गल्‍लीहरूमा

हिलोजस्तै खुट्टामुनि कुल्चिइन्छे।

11 तिमीहरूका पर्खालहरू निर्माण गर्ने दिन,

तिमीहरूका सिमानाहरू बढाउने दिन आउनेछ।

12 त्यस दिन मानिसहरू तिमीहरूकहाँ आउनेछन्;

अश्शूर र इजिप्टका सहरहरूबाट

इजिप्टदेखि लिएर यूफ्रेटिस नदिसम्मका

र टाढा-टाढाका समुद्रदेखि लिएर

टाढा-टाढाका पर्वतसम्मका मानिसहरू तिमीहरूकहाँ आउनेछन्।

13 तिमीहरूका बासिन्दाहरूका दुष्‍ट कामहरूका

परिणामको कारणले गर्दा पृथ्वी उजाड हुनेछ।

प्रार्थना र प्रशंसा

14 तपाईंका प्रजाहरूलाई आफ्नो लहुरो लिएर चराउनुहोस्;

तपाईंको उत्तराधिकारका भेडाका बगाललाई चराउनुहोस्,

जो एकलै वनमा,

कार्मेल पर्वतको मलिलो खर्कमा बस्छन्।

तिनीहरूलाई पहिलेका दिनहरूमा जस्तै

बाशान र गिलादमा गएर चर्न दिनुहोस्।

15 "तिमीहरू इजिप्टबाट निस्केर आएका दिनहरूमा जस्तै

म तिनीहरूलाई मेरा अद्‌भुत कार्यहरू देखाउनेछु।"

16 राष्ट्रहरूले देख्नेछन् र लज्जित हुनेछन्।

तिनीहरूका पूरै शक्ति काम नलाग्ने हुनेछन्।

तिनीहरूका हातहरूले आफ्ना मुख छोप्नेछन्,

र तिनीहरूका कानहरू बहिरा हुनेछन्।

17 तिनीहरूले सर्पले जस्तै

र जमिनमा घस्रने प्राणीहरूले जस्तै धुलो चाट्नेछन्।

तिनीहरू थरथर काम्दै आफ्ना गुफाहरूबाट निस्केर आउनेछन्;

तिनीहरू याहवेह हाम्रा परमेश्‍वरकहाँ डरसहित फर्कनेछन्,

र तिनीहरू उहाँसँग डराउनेछन्।

18 तपाईंजस्तो परमेश्‍वर को छ र?

जसले उहाँका उत्तराधिकारका बाँकी रहेकाहरूको पाप क्षमा गर्नुहुन्छ,

र अपराधहरू बिर्सिदिनुहुन्छ।

तपाईं सधैँभरि रिसाइरहनुहुन्‍न,

तर अटुट प्रेम देखाउनमा प्रसन्‍न हुनुहुन्छ।

19 तपाईंले हामीमाथि फेरि दया देखाउनुहुनेछ;

हाम्रा पापहरूलाई तपाईंले खुट्टामुनि कुल्चनुहुनेछ;

अनि हाम्रा सबै अधर्महरू समुद्रको गहिराइमा फालिदिनुहुनेछ।

20 जसरी तपाईंले धेरै अगिका दिनहरूमा

हाम्रा पुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको थियो,

त्यसरी नै तपाईं याकोबप्रति विश्‍वासयोग्य रहनुहुनेछ,

र अब्राहामलाई अचुक प्रेम देखाउनुहुनेछ।

Veja também

Publicidade
Miquéias
Ver todos os capítulos de Miquéias
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-