Pular para o conteúdo
Publicidade

मीका 4

याहवेहको पर्वत

1 अन्तिम दिनहरूमा

याहवेहको मन्दिरको पर्वत

अरू पर्वतहरूमध्ये प्रमुख भएर स्थापित गरिनेछ;

र पहाडहरूभन्दा माथि उठाइनेछ;

अनि सबै मानिसहरू त्यसमा ओइरिएर आउनेछन्।

2 धेरै राष्ट्रहरू आएर भन्‍नेछन्,

"आओ, हामीहरू याहवेहको पर्वतमा,

याकोबका परमेश्‍वरको मन्दिरमा जाऔँ।

उहाँले हामीलाई उहाँका मार्गहरू सिकाउनुहुनेछ,

ताकि हामी उहाँका मार्गहरूमा हिँड्न सकौँ।"

व्यवस्था सियोनबाट,

र याहवेहको वचन यरूशलेमबाट निस्कनेछन्।

3 उहाँले धेरै मानिसहरूका बीचमा न्याय गर्नुहुनेछ,

र टाढाका शक्तिशाली राष्ट्रहरूका वाद-विवाद सुल्झाउनुहुनेछ।

तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फालीहरू बनाउनेछन्,

र भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्।

एउटा राष्ट्रले अर्को राष्ट्रको विरुद्धमा तरवार उठाउनेछैन,

न त तिनीहरूले फेरि कहिल्यै युद्धका निम्ति तालिम दिनेछन्।

4 हरेक मान्छे आफ्नै दाखको बोटमुनि

र आफ्नै नेभाराको रूखमुनि बस्‍नेछ;

अनि कसैले पनि तिनीहरूलाई भयभीत तुल्याउनेछैन;

किनकि सेनाहरूका याहवेहले बोल्नुभएको छ।

5 सबै राष्ट्रहरू तिनीहरूका

आफ्नै देवताहरूका नाममा हिँडून्;

तर हामीचाहिँ याहवेह हाम्रा परमेश्‍वरको

नाममा सदासर्वदै हिँड्नेछौँ।

याहवेहको योजना

6 याहवेहले घोषणा गर्नुहुन्छ, "त्यस दिन

म लङ्गडाहरूलाई एकसाथ भेला गर्नेछु;

म निर्वासितहरूलाई एक ठाउँमा भेला गर्नेछु,

जसमाथि मैले शोक ल्याएको थिएँ।

7 म लङ्गडालाई मेरो बाँकी भाग बनाउनेछु,

देश निकाला गरिएकाहरूलाई बलियो राष्ट्र तुल्याउनेछु।

त्यसपछि याहवेहले सियोन पर्वतमा,

तिनीहरूमाथि सदासर्वदा राज्य गर्नुहुनेछ।

8 तेरो बारेमा चाहिँ, हे बगालको धरहरा,

हे सियोनकी छोरीको सुरक्षाको गढ,

तँलाई फेरि पहिलेको अधिकार फर्काइनेछ;

त्यो राजपद यरूशलेमकी छोरीकहाँ फेरि आउनेछ।"

9 अहिले तँ किन ठूलो सोरले चिच्याउँछेस्,

के तेरा निम्ति कुनै राजा छैनन्?

के तेरो शासक नष्‍ट भएको छ?

के तँ प्रसव-वेदनामा परेकी एउटी स्त्रीजस्तै पीडामा परेकी छेस्?

10 हे सियोनकी छोरी यरूशलेम,

एउटी प्रसव-वेदनामा परेकी स्त्रीजस्तै व्यथामा छटपटा;

किनकि अब तैँले यो सहर छोड्नुपर्छ,

र तैँले खुला मैदानमा छाउनी हाल्नुपर्छ।

तँ बेबिलोनमा जानेछस्;

त्यहाँ तँलाई छुटकारा दिइनेछ।

त्यहाँ याहवेहले तँलाई

तेरा शत्रुहरूका हातबाट उद्धार गर्नुहुनेछ।

11 तर अहिले धेरै राष्ट्रहरू

तेरो विरुद्धमा एकसाथ भेला भएका छन्।

तिनीहरू भन्छन्, "त्यसलाई भ्रष्‍ट पारियोस्

र हाम्रा आँखाहरूले सियोनको दुर्गतिलाई नियालोस्!"

12 तर तिनीहरूले याहवेहका

विचारहरू जान्दैनन्;

तिनीहरूले उहाँका योजनाहरू बुझ्दैनन्;

किनकि उहाँले तिनीहरूलाई खलामा बिटाहरूजस्तै जम्मा गर्नुभएको छ।

13 "हे सियोनकी छोरी, उठ् र दाइँ गर्;

किनकि म तँलाई फलामका सिङहरू दिनेछु;

म तँलाई पित्तलका खुरहरू दिनेछु,

र तैँले धेरै राष्ट्रहरूलाई चकनाचुर पार्नेछस्।"

तैँले तिनीहरूका अर्धमले कमाएको सम्पत्ति याहवेहलाई,

तिनीहरूको धन सारा पृथ्वीका प्रभुलाई समर्पित गर्नेछस्।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.