9 "मैले हेर्दाहेर्दै,
"सिंहासनहरू ठिक ठाउँमा बसालिए;
अनि अति प्राचीन आफ्नो सिंहासनमाथि बिराजमान हुनुभयो,
उहाँका कपडा हिउँजस्तै सेता थिए;
उहाँको शिरको केश ऊनजस्तै सेतो थियो।
उहाँको सिंहासन दन्किरहेको आगोको ज्वालाजस्तै थियो;
अनि त्यसका चक्काहरू जलिरहेका आगोजस्ता थिए।
10 उहाँको सामुबाट निस्केर आएको
एउटा आगोको नदी बगिरहेको थियो।
हजारौँ-हजार स्वर्गदूतले उहाँको सेवाटहल गर्दैथिए;
दश हजार गुणा दश हजार स्वर्गदूतहरू उहाँको सामु सेवा गर्न खडा थिए।
न्यायाधीश बस्नुभयो,
र पुस्तकहरू खोलिए।