Publicidade

Eclesiastes 5

परमेश्‍वरप्रति गरिएको प्रतिज्ञालाई पूरा गर्नु

1 परमेश्‍वरका भवनमा जाँदा आफ्ना कदमहरूमा होसियारी होऊ। मूर्खले आफू भूल गर्दैछु भनी नजानिकनै बलिदान चढाउनलाई गएजस्तो होइन, तर उहाँको आवाज सुन्‍नलाई नजिक जाऊ।

2 परमेश्‍वरको अगाडि बोल्नलाई हडबड नगर,

र कुनै कुरा बोल्न तिम्रो हृदयले हतार नगरोस्;

अनि उहाँको सामु प्रतिज्ञा गर्न हतार नगर।

किनकि परमेश्‍वर स्वर्गमा हुनुहुन्छ,

अनि तिमीचाहिँ पृथ्वीमा छौ;

यसकारण तिम्रा शब्दहरू थोरै होऊन्!

3 जसरी धेरै चिन्ता हुँदा सपना आउँदछ;

त्यसरी नै धेरै शब्दहरू मूर्खका बोली हुन्छन्।

4 जब परमेश्‍वरलाई प्रतिज्ञा गर्दछौ, त्यो पूरा गर्नमा ढिलो नगर। उहाँ मूर्खसित खुशी हुनुहुन्‍न; आफ्नो प्रतिज्ञा पूरा गर। 5 प्रतिज्ञा गरेर त्यो पूरा नगर्नुभन्दा प्रतिज्ञा गर्दै नगर्नु असल हो। 6 तिम्रो बोलीले पापमा नडोर्‍याओस्। अनि मन्दिरका दूतलाई, "मेरो प्रतिज्ञामा भूल भएछ," भनेर विरोध नगर। तिम्रा वचनले किन परमेश्‍वरलाई रिस उठाउँछौ, र आफ्नै हातका काम नष्‍ट गर्न लगाउँछौ? 7 धेरै सपना देख्नु र धेरै कुरा गर्नु अर्थहीन छन्। त्यसकारण परमेश्‍वरको भय मान।

धनसम्पत्ति अर्थहीन छन्

8 यदि तिमीले कुनै प्रान्तमा गरिबमाथि अत्याचार भएको, त्यसको अधिकार र न्याय इन्कार गरिएको देख्यौ भने अचम्म नमान; किनकि एक अधिकारीमाथि रेखदेख गर्न अर्को ठूलो अधिकारी खटाइएको हुन्छ, र ती सबैमाथि नजर राख्न अझ ठूलो अधिकारी खटाइएको हुन्छ। 9 जमिनबाट उब्जेका अन्‍न सबैले खान्छन्; राजा आफूले पनि जमिनबाट लाभ प्राप्‍त गर्दछन्।

10 जसले रुपैयाँपैसालाई प्रेम गर्छ, त्यसलाई कहिल्यै प्रशस्त हुँदैन।

जसले धनसम्पत्तिलाई प्रेम गर्छ, त्यो आफ्नो आम्दानीमा कहिल्यै सन्तुष्‍ट हुँदैन;

यो पनि अर्थहीन छ।

11 जब धनसम्पत्ति बढ्छ,

तब खाने मुखहरू पनि धेरै बढ्छन्।

अनि ती आँखाले हेर्नुबाहेक

मालिकलाई धनसम्पत्तिको अरू के लाभ हुन्छ र?

12 परिश्रम गर्नेको निद्रा मिठो हुन्छ;

चाहे त्यसले थोरै खाओस् वा धेरै खाओस्,

तर धनीको प्रचुर धनले गर्दा

त्यसलाई निद्रै लाग्दैन।

13 मैले सूर्यमुनि एउटा गम्भीर खराबी देखेको छु:

मानिसले थुपारेको धनले त्यसैलाई क्षति गरेको,

14 अथवा दुर्भाग्यवश त्यो धनसम्पत्ति गुमाएको;

त्यसका सन्तान भए तापनि

त्यसको उत्तराधिकारको निम्ति केही बाँकी नरहेको।

15 आफ्नी आमाको गर्भबाट मानिस नाङ्गै आउँछ,

र जस्तो आयो, त्यस्तै फर्किजान्छ।

आफ्नो परिश्रमको कमाइबाट

केही पनि हातमा लिएर जान सक्दैन।

16 यो पनि एक गम्भीर खराबी हो:

मानिसजस्तो प्रकारले आयो, त्यस्तै फर्किजानेछ;

तब त्यसलाई के लाभ भयो र,

के त्यसको परिश्रम हावामा नै खेर गएन र?

17 त्यसले आफ्नो सारा जीवनकाल अन्धकारमा,

ठूलो नैराश्य, कष्‍ट र रिस-रागमा जान्छ।

18 तब मैले यो थाहा पाएँ, मानिसको निम्ति खानु, पिउनु र परमेश्‍वरले सूर्यमुनि त्यसलाई दिनुभएको छोटो जीवनमा आफूले गरेको कठोर मेहनतमा सन्तुष्‍ट रहनु नै असल र उचित हुन्छ। यही त्यसको भाग हो। 19 त्यसबाहेक जब परमेश्‍वरले कुनै मानिसलाई धनसम्पत्ति दिनुहुन्छ, र ती उपभोग गर्ने मौका दिनुहुन्छ; तब त्यसले आफ्नो भागलाई स्वीकार गरी आफ्ना परिश्रममा प्रसन्‍न हुनुपर्दछ—यो परमेश्‍वरको वरदान हो। 20 आफ्नो जीवनका दिनहरूमा त्यसले विचारै गर्दैन; किनकि परमेश्‍वरले त्यसलाई हृदयको आनन्दमा व्यस्त गराउनुहुन्छ।

Veja também

Publicidade
Eclesiastes
Ver todos os capítulos de Eclesiastes
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-