Publicidade

Êxodo 15

मोशा र मिरियमको गीत

1 तब मोशा र इस्राएलीहरूले याहवेहका निम्ति यो गीत गाए:

"म याहवेहको निम्ति गाउनेछु;

किनकि उहाँ अति नै उच्‍च पारिनुभएको छ।

घोडा र त्यसको सवारलाई

उहाँले समुद्रमा फालिदिनुभएको छ।

2 "याहवेह नै मेरो बल, सुरक्षा र गीत हुनुहुन्छ;

उहाँ मेरा मुक्ति हुनुभएको छ।

उहाँ मेरा परमेश्‍वर हुनुहुन्छ, र म उहाँको प्रशंसा गर्नेछु;

मेरा पिताका परमेश्‍वर, र म उहाँको नामलाई उच्‍च पार्नेछु।"

3 याहवेह योद्धा हुनुहुन्छ;

उहाँको नाम याहवेह हो।

4 फारोका रथहरू र तिनका सेनालाई

उहाँले समुद्रमा फालिदिनुभएको छ।

फारोका सर्वोत्तम पदाधिकारीहरू

लाल समुद्रमा डुबाइएका छन्।

5 गहिरा पानीले तिनीहरूलाई छोपिदिएका छन्;

तिनीहरू ढुङ्गाझैँ गहिराइमा डुबेका छन्।

6 हे याहवेह, तपाईंको दाहिने हात,

शक्तिमा गौरवशाली थियो।

हे याहवेह, तपाईंको दाहिने हातले,

शत्रुलाई चकनाचुर पारेको छ।

7 "तपाईंका गौरवको महानतामा

तपाईंले विरोधीहरूलाई फ्याँकिदिनुभएको छ।

तपाईंले आफ्नो क्रोधको ज्वाला पोख्नुभयो;

जसले तिनीहरूलाई परालझैँ भस्म पार्‍यो।

8 तपाईंका नाकको सासको वेगले

पानी एक ठाउँमा थुप्रो लाग्यो,

तरङ्गले भरिएका पानीहरू दृढ पर्खालझैँ खडा भए;

गहिरो पानी समुद्रको गहिराइमा जमिहाल्यो।

9 शत्रुले घमण्ड गर्‍यो,

‘म तिनीहरूलाई खेद्नेछु, म तिनीहरूलाई भेट्नेछु।

म लुटिएका सामानहरू बाँड्नेछु;

म तिनीहरूलाई निल्नेछु।

म आफ्नो तरवार थुत्नेछु,

र मेरो हातले तिनीहरूलाई नाश पार्नेछु।’

10 तर तपाईंले आफ्नो सास फुक्नुभयो;

र समुद्रले तिनीहरूलाई ढाकिहाल्यो।

तिनीहरू शक्तिशाली पानीमा

सिसाझैँ डुबे।

11 हे याहवेह,

देवी-देवताहरूमा तपाईंजस्तो को छ र?

पवित्रतामा अति गौरवशाली,

महिमामा भययोग्य,

र अद्‌भुत कार्यहरू गर्नुहुने अरू को छ र?

12 "तपाईंले आफ्नो दाहिने हात पसार्नुभयो;

अनि पृथ्वीले हाम्रा शत्रुहरूलाई निलिहाल्यो।

13 तपाईंले आफ्नो अचुक प्रेममा,

आफूले छुटाउनुभएका मानिसहरूलाई डोर्‍याउनुहुनेछ।

तपाईंको शक्तिमा तपाईंले तिनीहरूलाई

आफ्नो पवित्र वासस्थानमा अगुवाइ गर्नुहुनेछ।

14 जातिहरूले सुन्‍नेछन् र काँप्नेछन्;

पलिश्तीहरूलाई वेदनाले पक्रनेछ।

15 एदोमका अगुवाहरू भयभीत हुनेछन्;

मोआबका शक्तिशाली अगुवाहरू काँप्नेछन्;

कनानका सारा मानिसहरू बिलाइजानेछन्;

16 उनीहरूलाई आतङ्क र डरले छोप्नेछ।

हे याहवेह, तपाईंका प्रजा पार नहोउन्जेल,

तपाईंले किन्‍नुभएका यी प्रजा पार नहोउन्जेल—

तपाईंका पाखुराको शक्तिले

उनीहरू पत्थरझैँ अचल हुनेछन्।

17 तपाईंले तिनीहरूलाई भित्र ल्याउनुहुनेछ र

तपाईंको आफ्नो उत्तराधिकारको पर्वतमा रोप्नुहुनेछ—

हे याहवेह, त्यो ठाउँ, जसलाई तपाईंले आफ्नो लागि वासस्थान बनाउनुभएको छ;

त्यो समागम पालमा, हे प्रभु, जसलाई तपाईंका हातहरूले स्थापित गर्नुभएको छ।

18 "याहवेहले सदासर्वदा

राज्य गर्नुहुन्छ।"

19 जब फारोका घोडा, रथ र घोडसवारहरू समुद्रभित्र पसे, तब याहवेहले समुद्रको पानी फर्काएर तिनीहरूमाथि ल्याइदिनुभयो; तर इस्राएलीहरू त समुद्रको बीचबाट ओबानो जमिनमाथि हिँडे। 20 तब हारूनकी दिदी अगमवादिनी मिरियमले आफ्नो हातमा एउटा खैँजडी लिइन्; अनि अरू स्त्रीहरू पनि खैँजडी लिएर नाच्दै तिनको पछि-पछि लागे। 21 मिरियमले यसरी गीत गाउन थालिन्:

"याहवेहका निम्ति गाओ;

किनकि उहाँ अति उच्‍च पारिनुभएको छ।

घोडा र त्यसको सवार दुवैलाई

उहाँले समुद्रमा फालिदिनुभएको छ।"

मारा र एलीमको पानी

22 तब मोशाले इस्राएललाई लाल समुद्रबाट लगे, र तिनीहरू शूरको उजाडस्‍थानभित्र पसे। तीन दिनसम्म तिनीहरू उजाडस्थानमा पिउने पानीविना यात्रा गरे। 23 जब तिनीहरू मारा आइपुगे, तिनीहरूले त्यहाँको पानी पिउन सकेनन्; किनकि त्यो तितो थियो। (त्यसैकारण त्यस ठाउँलाई मारा भनिन्छ।) 24 यसकारण मानिसहरू मोशाको विरुद्धमा यसो भन्दै गनगन गर्न थाले, "हामीले के पिऔँ?"

25 तब मोशाले याहवेहलाई पुकारे; अनि याहवेहले तिनलाई एउटा काठको टुक्रा देखाउनुभयो। जब तिनले त्यसलाई पानीमा फाले, तब त्यो पानी मिठो भयो।

त्यहाँ याहवेहले तिनीहरूका निम्ति एउटा नियम र निर्देशन बनाउनुभयो; अनि त्यहीँ नै उहाँले तिनीहरूको जाँच लिनुभयो। 26 उहाँले भन्‍नुभयो, "तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको कुरा ध्यानसित सुन्यौँ र उहाँको दृष्‍टिमा जे ठिक छ, त्यही गर्‍यौ, र तिमीहरूले उहाँका आज्ञाहरूमा ध्यान दियौ, र उहाँका सबै उर्दीहरू पालन गर्‍यौ भने मैले इजिप्टियनहरूमाथि ल्याएका रोगहरू म तिमीहरूमाथि ल्याउनेछैनँ; किनकि तिमीहरूलाई निको पार्ने याहवेह म नै हुँ।"

27 त्यसपछि तिनीहरू एलीममा आइपुगे, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूखहरू थिए। तिनीहरूले त्यहीँ पानीको नजिक पाल टाँगे।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-