Publicidade

Êxodo 20

दश आज्ञाहरू

1 परमेश्‍वरले यी कुराहरू भन्‍नुभयो:

2 "म नै याहवेह, तेरा परमेश्‍वर हुँ; जसले तँलाई इजिप्टबाट, दासत्वको देशबाट निकालेर ल्याएँ।

3 "मबाहेक तैँले अरू कुनै देवी-देवताहरू नमान्‍नू।

4 आफ्ना निम्ति खोपेर माथि आकाशको, तल पृथ्वीको, र पानी मुनिको कुनै पनि वस्तुको कुनै मूर्ति नबनाउनू। 5 तिनीहरूका सामु ननिहुरनू अथवा तिनीहरूको आराधना नगर्नू; किनकि म, याहवेह तेरा परमेश्‍वर, डाह गर्ने परमेश्‍वर हुँ; मलाई घृणा गर्नेहरूका पापको दण्ड तिनीहरूका छोराछोरीका तेस्रो र चौथो पुस्तामाथि दिन्छु; 6 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेका हजारौँ पुस्तामाथि प्रेम देखाउँछु।

7 तैँले याहवेह, आफ्ना परमेश्‍वरको नामको गलत प्रयोग नगर्नू; किनकि उहाँको नाम व्यर्थैमा लिनेलाई याहवेहले निर्दोष ठहराउनुहुनेछैन।

8 शब्बाथ दिनलाई पवित्र दिनको रूपमा राखेर त्यसको सम्झना गर्नू। 9 छ दिनसम्म तैँले परिश्रम गरेर आफ्ना सबै काम गर्नू; 10 तर सातौँ दिन याहवेह तेरा परमेश्‍वरका निम्ति शब्बाथ दिन हो। यस दिन तैँले केही काम नगर्नू; न त तैँले, न तेरा छोरा वा छोरीले, न तेरा सेवक वा सेविकाले, न तेरा पशुहरूले, न तेरा सहरभित्र भएका परदेशीले, न त कसैले केही काम गर्नू। 11 किनकि छ दिनमा याहवेहले आकाश, पृथ्वी, समुद्र र त्यसमा भएका सबै थोकहरू बनाउनुभयो, तर सातौँ दिनमा उहाँले विश्राम लिनुभयो। यसकारण याहवेहले शब्बाथ दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र तुल्याउनुभयो।

12 तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, ताकि याहवेह तेरा परमेश्‍वरले तँलाई दिनुहुने देशमा तेरो आयु लामो होस्।

13 तैँले मानव हत्या नगर्नू।

14 तैँले व्यभिचार नगर्नू।

15 तैँले चोरी नगर्नू।

16 तैँले आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी नदिनू।

17 तैँले तेरा छिमेकीको घरको लालच नगर्नू। तैँले आफ्नो छिमेकीको पत्नीको लालच नगर्नू, अथवा आफ्नो छिमेकीको सेवक वा सेविका, गोरु वा गधा, अथवा त्यससित भएको कुनै कुराको पनि लालच नगर्नू।"

18 जब सारा मानिसहरूले गर्जन, बिजुली देखे; अनि तुरहीको आवाज सुने, र पर्वत धुवाँले भरिएको देखे, तब तिनीहरू डरले थरथर कामे। तिनीहरू टाढै उभिए, 19 अनि मोशालाई भने, "हामीसित तपाईं नै बोल्नुहोस्, र हामी सुन्‍नेछौँ। तर परमेश्‍वर हामीसित नबोलून्, नत्रता हामी मर्नेछौँ।"

20 अनि मोशाले मानिसहरूलाई भने, "नडराओ, किनकि परमेश्‍वरको डर तिमीहरूमा रहिरहोस्, साथै उहाँले तिमीहरूलाई जाँच गर्न र तिमीहरूले पाप नगर भनेर आउनुभएको छ।"

21 त्यसैले मानिसहरू टाढै उभिरहे। अनि मोशाचाहिँ परमेश्‍वर उपस्थित हुनुभएको त्यस बाक्लो कालो बादलको नजिक गए।

मूर्तिहरू र वेदीहरू

22 तब याहवेहले मोशालाई भन्‍नुभयो, "इस्राएलीहरूलाई यसो भन्: ‘मैले तिमीहरूसित स्वर्गबाट बोलेको तिमीहरूले देखेका छौ: 23 तिमीहरूले मेरो साथमा अरू देवी-देवताहरू नबनाउनू, न त आफ्ना निम्ति चाँदी वा सुनका देवी-देवताहरू नै बनाउनू।

24 " ‘तिमीहरूले मेरो निम्ति माटोको एउटा वेदी बनाउनू, र त्यसमाथि तिमीहरूका होमबलि, मेलबलि, तिमीहरूका भेडाबाख्राहरू र पशुहरू बलिदान गर्नू। मेरो सम्झना गर्नलाई जुन स्थान म रोज्छु, त्यहाँ म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई आशिष् दिनेछु। 25 यदि तिमीहरूले मेरो निम्ति ढुङ्गाको वेदी बनायौ भने कुँदेका ढुङ्गाले नबनाउनू; किनकि तिमीहरूले त्यसमा हतियार प्रयोग गर्दा त्यसलाई अशुद्ध पार्नेछौ। 26 अनि तिमीहरूको नग्नता वेदीमा नदेखियोस् भनेर त्यसमा खुड्किला बनाएर नउक्लनू।’

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-