Publicidade

Êxodo 17

चट्टानबाटको पानी

1 इस्राएलीहरूका सारा समुदाय याहवेहले आज्ञा गर्नुभएझैँ एक ठाउँदेखि अर्को ठाउँ यात्रा गर्दै जानलाई सीनको उजाडस्थानबाट निस्के। तिनीहरूले रेफिदीममा पाल टाँगे; तर त्यहाँ मानिसहरूका निम्ति पिउनलाई पानी थिएन। 2 यसकारण तिनीहरूले मोशासित झगडा गरेर भने, "हामीलाई पिउने पानी दिनुहोस्।"

मोशाले जवाफ दिए, "तिमीहरू किन मसित झगडा गर्छौ? तिमीहरू किन याहवेहलाई परीक्षा गर्छौ?"

3 तर ती मानिसहरू असाध्यै तिर्खाएका थिए; अनि तिनीहरू मोशाको विरुद्धमा गनगनाए। तिनीहरूले भने, "हामी, हाम्रा छोराछोरी र गाईबस्तुहरूलाई तिर्खाले मार्न भनी तपाईंले इजिप्टबाट निकालेर यस डरलाग्दो ठाउँमा किन ल्याउनुभयो?"

4 तब मोशाले याहवेहलाई पुकार गरे, "म यी मानिसहरूलाई के गरूँ? तिनीहरूले मलाई ढुङ्गाले हान्‍नै आँटेका छन्।"

5 याहवेहले मोशालाई जवाफ दिनुभयो, "इस्राएलका केही प्रधानहरूलाई साथमा लिएर मानिसहरूका अगि-अगि जा, र जुन लहुरोले तैँले नील नदीलाई हिर्काएको थिइस्, त्यो पनि आफ्नो हातमा लिएर जा। 6 अनि म होरेबमा भएको चट्टानको छेवैमा तेरो सामु उभिनेछु। तैँले त्यस चट्टानलाई हिर्काऊनू, र त्यसबाट पानीको मूल फुट्नेछ, र मानिसहरूले पिउन सक्नेछन्।" यसकारण मोशाले इस्राएलका प्रधानहरूका आँखाको सामु त्यसै गरे। 7 "याहवेह हाम्रा बीचमा हुनुहुन्छ कि हुनुहुन्‍न" भन्‍ने इस्राएलीहरूका झगडाको कारण र तिनीहरूले याहवेहको परीक्षा गरेको कारण त्यस ठाउँको नाम तिनले मस्सा र मेरीबा राखे।

अमालेकीहरू परास्त भएका

8 अमालेकीहरूले आएर रेफिदीममा इस्राएलीहरूमाथि आक्रमण गरे। 9 अनि मोशाले यहोशूलाई भने, "हाम्रा मानिसहरूमध्ये केही मानिसलाई चुन र अमालेकीहरूसित लडाइँ गर। भोलि म परमेश्‍वरको लहुरो हातमा लिएर पहाडको टाकुरामा उभिनेछु।"

10 यसकारण मोशाले आदेश गरेझैँ यहोशूले अमालेकीहरूसित युद्ध गरे; मोशा, हारून र हूरचाहिँ पहाडको टाकुरामा गए। 11 मोशाले आफ्ना हातहरू उचालिराख्दा इस्राएलीहरूले जित्थे, तर जब तिनले आफ्ना हातहरू तल झार्थे, तब अमालेकीहरूले जित्थे। 12 जब मोशाका हातहरू थाके, तब तिनीहरूले एउटा ढुङ्गा लिएर त्यसलाई तिनको मुनि राखिदिए, र तिनी त्यसमाथि बसे। हारून र हूरले सूर्यास्तसम्म तिनका हातहरू स्थिर भइरहून् भनेर एउटाले एकापट्टि र अर्काले अर्र्कापट्टि तिनका हातहरू थामिराखे। 13 यसरी यहोशूले तरवारद्वारा अमालेकीहरूका सेनालाई पराजित गरे।

14 तब याहवेहले मोशालाई भन्‍नुभयो, "यसलाई सम्झनाका निम्ति एउटा पुस्तकमा लेखिराख्, र यो कुरा यहोशूलाई सुनाइदे; किनकि म अमालेकीहरूको सम्झना धर्तीबाट पूर्ण रूपमा मेटिदिनेछु।"

15 मोशाले एउटा वेदी बनाए, र त्यसलाई याहवेह निस्सी भने। 16 तिनले भने, "याहवेहको सिंहासनतिर हातहरू उचालिएकाले याहवेहले पुस्तौँ-पुस्तासम्म अमालेकीहरूका विरुद्धमा लडाइँ गर्नुहुनेछ।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-