11 याहवेहले मोशालाई भन्नुभयो, 12 "मैले इस्राएलीहरूको गनगन सुनेको छु। तिनीहरूलाई भन्, ‘बेलुकी तिमीहरूले मासु खानेछौ र बिहानचाहिँ तिमीहरू रोटीले अघाउनेछौ। तब म नै याहवेह तिमीहरूका परमेश्वर हुँ भनी तिमीहरूले जान्नेछौ।’ "
13 त्यस बेलुकी बट्टाई चराहरू आएर छाउनी नै ढाकिदिए; अनि बिहानचाहिँ छाउनीका चारैतिर शीत पर्यो। 14 शीत सुकेपछि उजाडस्थानभरि मसिना डल्लाहरू, तुसारोजस्ता चीजहरू देखा परे। 15 जब इस्राएलीहरूले त्यो देखे, तब तिनीहरूले आपसमा भने, "यो के हो?" किनकि त्यो के थियो, तिनीहरूलाई थाहा थिएन।
अनि मोशाले तिनीहरूलाई भने, "यो याहवेहले तिमीहरूलाई खान भनी दिनुभएको रोटी हो।