17 मोशाका ससुराले तिनलाई भने, "तिमीले जे गर्दैछौ, त्यो ठिक छैन। 18 पक्कै पनि तिमी र तिमीसित हुने यी मानिसहरू एकदम थाक्नेछौ; यो काम तिम्रो निम्ति अति गाह्रो छ; र तिमी एकलैले यो गर्न सक्दैनौ। 19 अब मेरो कुरा सुन, र म तिमीलाई केही सल्लाह दिनेछु, र परमेश्वर तिमीसित रहून्। तिमी परमेश्वरको सामु मानिसहरूका प्रतिनिधि भएर तिनीहरूका विवादहरू उहाँकहाँ लैजाऊ। 20 तिनीहरूलाई उर्दी र व्यवस्थाहरू सिकाऊ, र तिनीहरूलाई जिउने तरिका र पालना गर्नुपर्ने कर्तव्य देखाइदेऊ। 21 यसकासाथै यस्ता मानिसहरूलाई चुन, जो सबै मानिसहरूमध्येबाट सक्षम अर्थात् परमेश्वरको डर मान्ने विश्वासयोग्य मानिसहरू जसले बेइमानीसित लाभ लिन घृणा गर्छन्। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दश जनामाथि अगुवा नियुक्त गर। 22 हरेक समय मानिसहरूमाथि तिनीहरूले न्यायकर्ता भएर सेवा गरून्; तर तिनीहरूले हरेक गाह्रो मुद्दाचाहिँ तिम्रो सामु ल्याऊन्; साना-साना मुद्दाहरूको निर्णयचाहिँ तिनीहरूले नै गरून्। यसो गर्दा तिम्रो भार हलुका हुनेछ, र तिनीहरूले तिमीसित भार उठाउनेछन्। 23 तिमीले यसो गर्यौ भने, र परमेश्वरले यस्तै आज्ञा दिनुभयो भने तिम्रो भार हलुका हुनेछ, र यी मानिसहरू शान्तिसाथ आफ्नो घरमा फर्कनेछन्।"