12 यसैले मेरा प्रिय मित्रहरू हो, म तिमीहरूसँग हुँदा तिमीहरूले मेरा शिक्षाहरू सधैँ पालन गरेका थियौ। अहिले म तिमीहरूदेखि टाढा छु; यसैले यो अझ महत्त्वपूर्ण छ। परमेश्वरमा आज्ञाकारी भई गहिरो भक्ति र भयका साथ आफ्नो मुक्तिका परिणामहरू देखाउन कडा परिश्रम गर। 13 किनकि तिमीहरूमा काम गर्ने परमेश्वर नै हुनुहुन्छ, जसले उहाँको आफ्नो असल उद्देश्य पूरा गर्न तिमीहरूलाई इच्छा गर्ने र काम गर्ने तुल्याउनुहुन्छ।
14 गनगन र वाद-विवाद नगरी सबै काम गर; 15 ताकि तिमीहरू निर्दोष र शुद्ध भएर, "टेढो र भ्रष्ट पुस्ताको बीचमा परमेश्वरका निष्खोट सन्तान बन्न सक।"2:15 व्यव 32:5 तब तिमीहरू तिनीहरूका माझ आकाशका ताराहरूझैँ चम्कनेछौ। 16 यसैले तिमीहरूले जीवनको वचनलाई दह्रो गरी पक्रिराख, ताकि म व्यर्थमा दौडिनँ अथवा व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्टको पुनरागमनमा म गर्व गर्न सकूँ।