सांसारिक वासस्थानमा आराधना
1 अब परमेश्वरले इस्राएलीहरूसँग बाँध्नुभएको पहिलो करारमा आराधनाको नियम र आराधना गर्ने सांसारिक पवित्रस्थान पनि थियो। 2 यसरी वासस्थान तयार भयो। वासस्थानको पहिलो भागमा (पहिलो पर्दाको पछाडि) सामदान थियो, र पवित्र रोटी राखिएको टेबुल थियो; जसलाई पवित्रस्थान भनिन्थ्यो। 3 दोस्रो पर्दाको पछाडि अर्को भाग थियो; जसलाई महा-पवित्रस्थान भनिन्थ्यो, 4 जसमा सुनको धुपौरो र सुनले मोहोरिएको करारको सन्दुक थियो। यस सन्दुकमा मन्न राखिएको सुनको भाँडो, कोपिला लागेको हारूनको लहुरो र करारका शिलापाटीहरू थिए। 5 सन्दुकमाथि पाप क्षमाको ठाउँको ढकनीमा छाया पारिरहेका महिमाका करूबहरू9:5 करूबहरूलाई सामान्यतया परमेश्वरका स्वर्गदूतहरू बराबर मानिन्थ्यो, तर हामी यकिनका साथ भन्न सक्दैनौँ, कि कुन प्रकारको पखेटा भएको प्राणी हो। यसको शरीर जनावर अथवा मानिसको जस्तो हुन्थ्यो भनेर भनिन्छ। थिए, तर हामी यी कुराहरू अहिले विस्तारपूर्वक व्याख्या गर्न सक्दैनौँ।