Publicidade

Zacarias 10

याहवेहले यहूदाको वास्ता गर्नुहुनेछ

1 वसन्त ऋतुको समयमा याहवेहसित झरी माग;

याहवेह नै हुनुहुन्छ, जसले आँधीबेहरीलाई पठाउनुहुन्छ।

उहाँले नै सबै मानिसहरूका लागि वर्षाको झरी बर्साइदिनुहुन्छ;

अनि सबैका लागि खेतमा बोटबिरुवाहरू उमारीदिनुहुन्छ।

2 मूर्तिहरूले छलका कुरा गर्छन्,

जोखना हेर्नेहरूले झूटो दर्शन देख्छन्;

तिनीहरूले झूटो सपना भन्छन्,

तिनीहरूले व्यर्थमा सान्त्वना दिन्छन्।

यसैकारण गोठालाको कमीले गर्दा

मानिसहरू अत्याचारमा परेका भेडाझैँ बरालिन्छन्।

3 "गोठालाहरूको विरुद्धमा मेरो रिस दन्कन्छ;

अनि म अगुवाहरूलाई दण्ड दिनेछु;

किनकि सेनाहरूका याहवेहले

आफ्नो बगाल यहूदाको घरानालाई हेरचाह गर्नुहुनेछ;

अनि तिनीहरूलाई लडाइँका जङ्गी घोडासमान तुल्याउनुहुनेछ।

4 यहूदाको कुलबाट कुनेढुङ्गा आउनेछ;

तिनीबाट पालको खाँबो,

लडाइँको धनु,

र हरेक शासक आउनेछ।

5 तिनीहरूले लडाइँका पराक्रमी योद्धाहरूझैँ

तिनीहरूका शत्रुहरूलाई सडकका हिलोमा कुल्चनेछन्।

तिनीहरूले लडाइँ गर्नेछन्; किनकि याहवेह तिनीहरूसँग हुनुहुन्छ;

अनि शत्रुहरूका घोडसवारहरूलाई शर्ममा पर्नेछन्।

6 "म यहूदाको घरानालाई शक्तिशाली बनाउनेछु,

र योसेफको घरानालाई बचाउनेछु।

म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु;

किनकि मलाई तिनीहरूप्रति दया भएको कारण

तिनीहरू यस्ता हुनेछन्, मानौ

मैले तिनीहरूलाई कहिल्यै त्यागेकै थिइनँ;

किनकि म याहवेह तिनीहरूका परमेश्‍वर हुँ;

अनि म तिनीहरूलाई जवाफ दिनेछु।

7 एफ्राएमीहरू शक्तिशाली योद्धाहरूझैँ हुनेछन्;

अनि तिनीहरूका हृदय मद्य पिएर आनन्दित भएझैँ हुनेछन्।

तिनीहरूका सन्तानले पनि त्यो देख्नेछन् र आनन्दित हुनेछन्;

तिनीहरूका हृदय याहवेहमा रमाउनेछन्।

8 म तिनीहरूलाई इशारा गर्नेछु,

र तिनीहरूलाई भित्र भेला गर्नेछु।

निश्‍चय नै म तिनीहरूलाई छुटाउनेछु;

तिनीहरू पहिलेको जस्तै संख्यामा धेरै हुनेछन्।

9 मैले तिनीहरूलाई मानिसहरूको बीचमा तितरबितर पारे तापनि

तिनीहरूले मलाई टाढा देशहरूमा सम्झना गर्नेछन्।

तिनीहरू र तिनीहरूका सन्तानहरू जीवित रहनेछन्;

अनि तिनीहरू फर्कनेछन्।

10 म तिनीहरूलाई इजिप्टबाट फर्काइल्याउनेछु,

र तिनीहरूलाई अश्शूरबाट जम्मा गर्नेछु।

म तिनीहरूलाई गिलाद र लेबनानमा ल्याउनेछु;

अनि ती ठाउँहरूमा समेत तिनीहरू अटाउनेछैनन्।

11 तिनीहरू कष्‍टको सागरबाट पार भएर जाँदा,

छाल उर्लेको सागरलाई शान्त गराइनेछ;

अनि नील नदीका सबै गहिराइहरू सुकिजानेछन्।

अश्शूरको अहङ्कार चकनाचुर पारिनेछ,

र इजिप्टले आफ्नो राजदण्ड गुमाउनेछ।

12 म तिनीहरूलाई याहवेहमा शक्तिशाली बनाउनेछु;

अनि उहाँकै नाममा तिनीहरू सुरक्षित रहनेछन्,"

याहवेह घोषणा गर्नुहुन्छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-18_09-43-29-