ख्रीष्टको एक पल्टको बलिदान सधैँको लागि
1 व्यवस्था केवल आउने असल कुराहरूको छाया मात्र हो; यो आफैँमा वास्तविकता होइन। यसैकारण यसले एकै किसिमको बलिदान अन्त्य नहुने गरी हरेक वर्ष दोहोर्याइएकोले आराधनाको नजिक आउनेहरूलाई सिद्ध तुल्याउन सक्दैन। 2 यदि सक्ने भए के ती चढाइन रोकिने थिएनन् र? किनकि आराधना गर्नेहरू सधैँको निम्ति शुद्ध भइसक्नेथिए, र फेरि कहिल्यै तिनीहरूका पापहरूको लागि दोषी ठहरिने थिएनन्। 3 तर ती बलिदानहरू पापका वार्षिक सम्झना मात्र हुन्; 4 किनकि बोका र साँढेहरूको रगतले पाप हटाउन असम्भव छ।