Publicidade

Jeremias 10

परमेश्‍वर र मूर्तिहरू

1 हे इस्राएलका घराना हो, याहवेहले तिमीहरूलाई के भन्दै हुनुहुन्छ, सो सुन। 2 उहाँले तिमीहरूलाई यसो भन्‍नुहुन्छ:

"अरू राष्ट्रहरूका मार्गहरू नसिक,

अथवा आकाशका चिन्हहरूद्वारा नआत्तिओ;

यद्यपि ती राष्ट्रहरूचाहिँ ती चिन्हहरूद्वारा आत्तिन्छन्।

3 किनकि तिनीहरूका रीतिरिवाजहरू व्यर्थका छन्;

तिनीहरूले जङ्गलबाट एउटा रूख काट्छन्;

अनि शिल्पकारले आफ्नो हतियारले त्यसलाई आकार दिन्छ।

4 तिनीहरूले त्यसलाई चाँदी र सुनले सिँगार्छन्;

हथौडाले काँटी ठोकेर तिनीहरूले त्यसलाई जोड्छन्,

ताकि त्यो यताउता नहल्‍लिओस्।

5 काँक्राबारीमा काग धपाउन राखिएको पुत्लाझैँ,

तिनीहरूका मूर्तिहरू बोल्न सक्दैनन्;

किनकि ती हिँड्न सक्दैनन्।

ती मूर्तिहरूलाई बोकेर लैजानुपर्छ।

तिनीहरूदेखि नडराओ;

तिनीहरूले कुनै पनि हानि गर्न सक्दैनन्,

न त तिनीहरूले कुनै असल कुरा नै गर्न सक्छन्।"

6 हे याहवेह, तपाईंजस्तो अरू कोही पनि छैन;

तपाईं महान् हुनुहुन्छ;

अनि तपाईंको नाम महान् र शक्तिशाली छ।

7 हे राष्ट्रहरूका राजा,

तपाईंसँग कोचाहिँ डराउँदैन र?

किनकि तपाईं आदरयोग्य हुनुहुन्छ।

राष्ट्रहरूका सबै बुद्धिमान् मानिसहरू

र तिनीहरूका सबै राज्यहरूमा

तपाईंजस्तो अरू कोही छैन।

8 तिनीहरू सबै विवेकहीन र मूर्ख छन्;

तिनीहरू काम नलाग्ने काठका मूर्तिहरूद्वारा सिकाइएका छन्।

9 मूर्ति बनाउन तर्शीशबाट पिटिएको चाँदी र

उपाजबाट सुन ल्याइन्छ।

शिल्पकार र सुनारद्वारा त्यसलाई बनाइन्छ;

अनि त्यसमा निलो र बैजनी रङ्गको लुगा लगाइन्छ।

ती सबै थोक सिपालु कारिगरहरूद्वारा बनाइएका छन्।

10 तर याहवेह सत्य परमेश्‍वर हुनुहुन्छ;

उहाँ जीवित र अनन्तसम्मका राजा हुनुहुन्छ।

जब उहाँ रिसाउनुहुन्छ, पृथ्वी थरथर काँप्छ;

राष्ट्रहरूले उहाँको क्रोध सहनै सक्दैनन्।

11 "तिनीहरूलाई यसो भन्: ‘यी देवताहरू, जसले स्वर्ग र पृथ्वी बनाएनन्, ती पृथ्वी र आकाशमुनिबाट नष्‍ट हुनेछन्।’ "

12 तर परमेश्‍वरले पृथ्वी आफ्नो शक्तिद्वारा बनाउनुभयो;

उहाँले संसारलाई आफ्नो बुद्धिले स्थापित गर्नुभयो;

र उहाँले आकाशलाई आफ्नो समझशक्तिले फैलाउनुभयो।

13 जब उहाँ बोल्नुहुन्छ, तब आकाशमा पानीको गर्जन हुन्छ;

उहाँले बादललाई पृथ्वीको अन्तिम छेउबाट उठाउनुहुन्छ।

उहाँले झरीसँग बिजुली पठाउनुहुन्छ;

अनि हावालाई उहाँको भण्डारहरूबाट निकाल्नुहुन्छ।

14 हरेक मानिस विवेकहीन र ज्ञानहीन छ;

हरेक सुनार आफ्नै मूर्तिहरूद्वारा शर्ममा पर्नेछ।

किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन्;

तिनीहरूमा जीवनको सास हुँदैन।

15 ती मूर्तिहरू सबै व्यर्थका र ठट्टाका पात्र हुन्;

जब तिनीहरूको न्याय आउँछ, तब तिनीहरू नष्‍ट हुनेछन्।

16 उहाँ, जो याकोबका अंश हुनुहुन्छ, उहाँ ती मूर्तिहरूजस्ता हुनुहुन्‍न;

किनकि उहाँ सबै कुराहरूको सृष्‍टिकर्ता हुनुहुन्छ,

जसमा इस्राएल, उहाँको उत्तराधिकारका मानिसहरू पनि सामेल छन्;

सेनाहरूका याहवेह उहाँको नाम हो।

आउन लागेको विनाश

17 हे घेराउमा परेर बसेका यरूशलेमका बासिन्दाहरू हो,

देश छोड्नलाई आफ्ना सरसामानहरू बटुल।

18 किनकि याहवेह यसो भन्‍नुहुन्छ:

"यसै समयमा म यस देशमा बस्‍नेहरूलाई

झटारो हानेर निकालिदिनेछु;

म तिनीहरूमाथि सङ्कष्‍ट ल्याउनेछु,

ताकि तिनीहरू पक्राउ परून्।"

19 मेरो चोटको खातिर मलाई धिक्‍कार छ!

मेरो चोट निको नहुने किसिमको छ!

तापनि मैले आफूलाई भनेँ,

"यो मेरो रोग हो, र मैले यसलाई सहनैपर्छ।"

20 मेरो पाल भत्काइएको छ;

पालका सबै डोरीहरू चुडाइएका छन्।

मेरा छोराछोरीहरू मबाट गइसकेका छन् र अब कोही पनि छैन;

अब मेरो पाल टाँगिदिने

अथवा मेरो वासस्थान ठिक गरिदिने कोही पनि बाँकी छैन।

21 गोठालाहरू विवेकहीन भएका छन्,

र तिनीहरू याहवेहको खोजी गर्दैनन्;

यसैकारण तिनीहरू सफल हुँदैनन्;

अनि तिनीहरूका सबै बगालहरू छरपस्ट भएका छन्।

22 सुन! यस्तो खबर आइरहेको छ,

उत्तरको देशबाट एउटा ठूलो होहल्‍ला आइरहेछ!

यसले यहूदाका सहरहरूलाई उजाड पार्नेछ,

र स्यालहरूका ओडार बनाउनेछ।

यर्मियाको प्रार्थना

23 हे याहवेह, म जान्दछु, मानिसको जीवन उसको आफ्नो हातमा छैन;

तिनीहरू आफैँले आफ्ना पाइलाहरूलाई निर्देशन गर्दैनन्।

24 हे याहवेह, मलाई सुधार्नुहोस्, तर तपाईंको न्यायअनुसार,

तपाईंको रिसमा चाहिँ होइन;

नत्रता तपाईंले मलाई भष्म पारिदिनुहुनेछ।

25 तपाईंको क्रोध ती राष्ट्रहरूमाथि खन्याइदिनुहोस्,

जसले तपाईंलाई परमेश्‍वर भनी स्वीकार गर्दैनन्;

ती मानिसहरूमाथि, जसले तपाईंको नाम पुकार्दैनन्।

किनकि तिनीहरूले याकोबलाई निलेका छन्;

तिनीहरूले तिनलाई सर्लक्‍कै निलेका छन्;

अनि तिनको जन्मभूमिलाई उजाड पारिदिएका छन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-18_14-04-22-