Publicidade

Jeremias 9

1 अहो, यदि मेरो शिर पानीको मूल

र मेरा आँखाहरू आँसुका फोहरा भएको भए!

मेरा मारिएका मानिसहरूका निम्ति

म दिनरात रुनेथिएँ।

2 अहो, मरुभूमिमा यात्रीहरूका निम्ति

मसँग एउटा बास बस्‍ने ठाउँ भएको भए,

म मेरा मानिसहरूलाई

त्यहाँ राखेर तिनीहरूबाट टाढा जानेथिएँ;

किनकि तिनीहरू सबै व्यभिचारी

र विश्‍वासघाती मानिसहरूको भीड हो।

3 "तिनीहरूले झूट बोल्नका लागि

आफ्ना जिब्रा धनुजस्तै तयार गर्छन्;

देशमा तिनीहरू सत्यताद्वारा

विजयी भएका होइनन्।

तर तिनीहरू एउटा पापपछि अर्को पाप गर्दै जान्छन्;

तिनीहरूले मलाई जान्दैनन्,"

याहवेह घोषणा गर्नुहुन्छ।

4 "तिमीहरूका साथीहरूदेखि होसियार होओ;

आफ्ना वंशको कुनै पनि दाजुभाइहरूमाथि भरोसा नगर।

किनकि हरेक दाजुभाइहरू छली छन्;

अनि हरेक साथी निन्दक छन्।

5 एउटा मित्रले अर्को मित्रलाई छल गर्छ;

अनि कसैले पनि सत्य कुरा बोल्दैन।

तिनीहरूले आफ्नो जिब्रोलाई झूट बोल्न सिकाएका छन्;

तिनीहरू पाप गरेर आफैँलाई थकित तुल्याउँछन्।

6 तँ छलीहरूको बीचमा बस्छस्;

तिनीहरूको छलमा तिनीहरूले मलाई आफ्ना परमेश्‍वरको रूपमा स्वीकार गर्न मान्दैनन्,"

याहवेह घोषणा गर्नुहुन्छ।

7 यसकारण सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ:

"हेर, म तिनीहरूलाई खार्नेछु र तिनीहरूलाई जाँच्नेछु;

किनकि मेरा मानिसहरूका पापको निम्ति

म अरू के गर्न सक्छु र?

8 तिनीहरूका जिब्रा घातक काँड हुन्;

ती जिब्राले छलको कुरा बोल्दछन्।

तिनीहरू सबै आफ्ना छिमेकीहरूसँग मुखले मिठो कुरा गर्दछन्,

तर आफ्ना हृदयमा भने छिमेकीको विरुद्धमा पासो थाप्छन्।"

9 याहवेह घोषणा गर्नुहुन्छ,

"के म यस्तो पापका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ?

के यस्तो राष्ट्रसँग,

म बदला नलिऊँ?"

10 म पर्वतहरूका निम्ति रुनेछु र विलाप गर्नेछु;

अनि मरुभूमिका खर्कहरूका निम्ति पनि विलाप गर्नेछु।

ती खर्कहरू जलाएर भस्म पारिएका छन् र त्यहाँबाट कोही पनि हिँड्दैनन्;

अनि त्यहाँ गाईबस्तुको आवाज पनि सुनिँदैन।

आकाशका चराहरू सबै उडेर गइसकेका छन्

र जनावरहरू पनि गइसकेका छन्।

11 "म यरूशलेमलाई भग्नावशेषको थुप्रो

र स्यालको ओडार बनाउनेछु;

अनि यहूदाका सहरहरूमा कोही नबसून् भनेर

म यहूदालाई उजाड पारिदिनेछु।"

12 व्यवस्थालाई बुझ्न सक्ने बुद्धिमान् मानिस को छ? याहवेहले कसलाई निर्देशन गर्नुभएको छ र व्यवस्थालाई व्याख्या गर्न सक्छ? देश किन विनाश गरिएको छ र कोही हिँड्न नसक्ने मरुभूमिजस्तै किन पारिएको छ?

13 याहवेहले भन्‍नुभयो, "मैले तिनीहरूका अगि राखिदिएको मेरो व्यवस्थालाई तिनीहरूले त्यागेका कारण यी सबै कुरा भएका हुन्; तिनीहरूले मेरो आज्ञापालन गरेनन्, न त मेरो व्यवस्था नै पालन गरे। 14 बरु तिनीहरू आफ्ना हृदयको हठीपनको पछि लागेका छन्; तिनीहरूका पितापुर्खाहरूले तिनीहरूलाई सिकाएझैँ, तिनीहरू बाल-देवताहरूका पछि लागेका छन्।" 15 यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: "हेर, म यस जातिलाई तितो भोजन खान लगाउनेछु र विषालु पानी पिउन लगाउनेछु। 16 म तिनीहरूलाई, न तिनीहरूले, न त तिनीहरूका पितापुर्खाहरूले जानेका वा चिनेका जातिहरूको बीचमा छरपस्ट पारिदिनेछु। म तिनीहरूलाई तिनीहरूको विनाश नहोउन्जेलसम्म खेद्नेछु।"

17 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ:

"अब यी कुराहरू विचार गर! विलाप गर्ने स्त्रीहरूलाई बोलाओ;

तिनीहरूमध्येका सबैभन्दा सिपालु स्त्रीहरूलाई ल्याओ।

18 तिनीहरू चाँडै आऊन्,

र हाम्रा आँखाबाट आँसुका भलहरू

र हाम्रा आँखाको परेलाबाट पानीको धारा नबगेसम्म

हाम्रा निम्ति विलाप गरिदेऊन्।

19 सियोनबाट विलापको सोर सुनिँदैछ:

हामी कसरी नष्‍ट भएका छौँ!

हामी साह्रै लज्जित छौँ!

हामीले आफ्नो देश छोड्नैपर्छ;

किनकि हाम्रा घरहरू नष्‍ट भएका छन्।"

20 तर हे स्त्रीहरू, याहवेहको वचन सुन;

उहाँको मुखको वचन सुन्‍न आफ्ना कानहरू खोल।

आफ्ना छोरीहरूलाई बिलौना गर्न सिकाओ;

एक-अर्कालाई विलापको गीत सिकाइदेओ।

21 मृत्यु हाम्रा झ्यालहरूबाट चढेर आएको छ, र

हाम्रा किल्‍लाहरूमा पसेको छ;

यसले केटाकेटीहरूलाई बाटो-बाटोबाट

र जवानहरूलाई चोक-चोकबाट नष्‍ट गरेको छ।

22 तैँले भन्, "याहवेह यसरी घोषणा गर्नुहुन्छ:

" ‘मानिसहरूका लासहरू खुला मैदानमा

मलझैँ छरिएका हुनेछन्;

तिनीहरू कटनी गर्नेले छोडेको अन्‍नझैँ हुनेछन्।

ती छोडिएको अन्‍नहरू कसैले बटुल्ने छैन।’ "

23 याहवेह यसो भन्‍नुहुन्छ:

"बुद्धिमान् मानिसले आफ्नो बुद्धिको घमण्ड नगरोस्,

बलवान् मानिसले आफ्नो बलको घमण्ड नगरोस्,

र धनी मानिसले आफ्नो धनको घमण्ड नगरोस्;

24 तर जसले घमण्ड गर्छ, त्यसले यस विषयमा चाहिँ घमण्ड गरोस्:

कि त्यससँग मलाई चिन्‍ने समझशक्ति छ;

म याहवेह हुँ, जसले पृथ्वीमा दया,

न्याय र धार्मिकताको व्यवहार गर्दछु;

किनकि यिनै कुराहरूमा म प्रसन्‍न हुन्छु,"

याहवेह घोषणा गर्नुहुन्छ।

25 याहवेह घोषणा गर्नुहुन्छ, "ती दिनहरू आउँदैछन्, जब म शरीरमा मात्रै खतना भएकाहरू सबैलाई दण्ड दिनेछु; 26 अर्थात् इजिप्ट, यहूदा, एदोम, अम्मोन, मोआब र टाढा मरुभूमिका सिमानाहरूमा बस्‍ने सबैलाई दण्ड दिनेछु। किनकि यी सबै जातिहरू साँचो रूपमा खतना भएका छैनन्; अनि इस्राएलको सम्पूर्ण घरानाको पनि हृदयमा खतना भएको छैन।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-18_10-32-54-