Publicidade

Jeremias 30

इस्राएलको पुनर्स्थापन

1 यर्मियाकहाँ आएको याहवेहको वचन यही हो: 2 "याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘मैले तँलाई भनेका सबै कुराहरू एउटा पुस्तकमा लेख्। 3 हेर, दिनहरू आउँदैछन्,’ याहवेह घोषणा गर्नुहुन्छ, ‘जब म मेरो प्रजा इस्राएल र यहूदालाई कैदबाट फर्काएर ल्याउनेछु, तब मैले तिनीहरूका पितापुर्खाहरूलाई अधिकारमा दिएको देशमा तिनीहरूलाई पुनर्स्थापित गर्नेछु,’ याहवेह भन्‍नुहुन्छ।"

4 इस्राएल र यहूदाको बारेमा याहवेहले भन्‍नुभएको कुराहरू यिनै हुन्: 5 याहवेह यसो भन्‍नुहुन्छ:

"डराएकाहरूका चीत्कार सुनिँदैछ—

त्रासको चीत्कार, शान्तिको होइन।

6 अहिले सोध र हेर:

के कुनै पुरुषले छोराछोरी जन्माउन सक्छ?

त्यसो भए किन म हरेक बलियो पुरुषले

सुत्केरी व्यथामा परेकी स्त्रीले जस्तै आफ्नो हात आफ्नो पेटमाथि राखेको,

र हरेक अनुहार मरेको जस्तै पहेँलो भएको देख्छु?

7 हाय! त्यो दिन अति भयानक दिन हुनेछ!

त्यस्तो अरू कुनै दिन पनि हुनेछैन।

त्यो दिन याकोबका निम्ति सङ्कष्‍टको समय हुनेछ;

तर ऊ त्यसबाट बचाइनेछ।

8 " ‘त्यस दिन,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ,

‘म तिनीहरूका काँधबाट जुवा भाँचिदिनेछु;

अनि तिनीहरूका बन्धन फुकाइदिनेछु;

अब फेरि तिनीहरूलाई विदेशीहरूले कमारा बनाउने छैनन्।

9 त्यसको सट्टामा तिनीहरूले याहवेह आफ्ना परमेश्‍वरको

र तिनीहरूका राजा दावीदको सेवा गर्नेछन्,

जसलाई म तिनीहरूका निम्ति खडा गर्नेछु।

10 " ‘यसकारण हे मेरो सेवक याकोब, नडरा;

हे इस्राएल, हताश नहो,’

याहवेह घोषणा गर्नुहुन्छ।

‘म निश्‍चय नै तँलाई टाढाको ठाउँबाट र

तेरा सन्तानहरूलाई बेबिलोनको कैदबाट बचाउनेछु।

याकोब फेरि शान्ति र सुरक्षामा हुनेछ;

अनि कसैले पनि इस्राएललाई भयभीत पार्न सक्नेछैन।

11 म तेरो साथमा छु, र तँलाई बचाउनेछु,’

याहवेह घोषणा गर्नुहुन्छ।

‘मैले तँलाई जुन राष्ट्रहरूको बीचमा छरपस्ट पारेँ,

ती राष्ट्रहरूलाई सम्पूर्ण रूपले नाश गरे तापनि

म तँलाईचाहिँ पूर्ण रूपले नाश गर्नेछैनँ।

तर म तँलाई विनादण्ड चाहिँ छोड्नेछैनँ;

म तँलाई न्यायपूर्वक दण्ड दिनेछु।’

12 "याहवेह यसो भन्‍नुहुन्छ:

" ‘तेरो चोट निको नहुने खालको छ;

तेरो घाउ पीडादायी छ।

13 तेरो पक्षमा बोलिदिने कोही पनि छैन;

तेरो घाउको निम्ति कुनै उपचार छैन;

अनि तेरो निम्ति कुनै चङ्गाइ छैन।

14 तेरा सबै मित्रहरूले तँलाई बिर्सेका छन्;

तिनीहरूले तेरो कुनै वास्ता गर्दैनन्।

मैले तँलाई शत्रुले झैँ प्रहार गरेको छु;

अनि निष्‍ठुरीले झैँ तँलाई दण्ड दिएको छु;

किनकि तेरो अपराध अति ठूलो

र तेरा पापहरू अति धेरै छन्।

15 तँ आफ्नो घाउले गर्दा

र तेरो निको नहुने पीडाको निम्ति किन रुन्छस्?

तेरो ठूलो अपराध र धेरै पापहरूका कारण

मैले तँसँग यी कुराहरू गरेको हुँ।

16 " ‘तर तँलाई निल्नेहरू सबै अरूद्वारा निलिनेछन्;

तेरा सबै शत्रुहरू निर्वासनमा जानेछन्।

तँलाई लुट्नेहरू अरूद्वारा लुटिनेछन्;

तँलाई बिगार्नेहरूलाई म बिगारिदिनेछु।

17 तर म तँलाई फेरि स्वस्थ तुल्याउनेछु,

र तेरा घाउहरू निको पार्नेछु,’ याहवेह घोषणा गर्नुहुन्छ;

‘किनकि तँलाई बहिष्कृत गरिएका भनिनेछ,

सियोन, जसको कसैले वास्ता गर्दैन।’

18 "याहवेह यसो भन्‍नुहुन्छ:

" ‘हेर, म याकोबको पालको सुख-शान्ति पुनर्स्थापित गर्नेछु,

र त्यसको वासस्थानमाथि दया देखाउनेछु;

त्यो सहर त्यसकै भग्नावशेषमाथि पुनर्निर्माण हुनेछ;

अनि राजमहल पहिलेकै आफ्नै स्थानमा खडा हुनेछ।

19 तिनीहरूबाट धन्यवादका स्तुतिगान

र आनन्दको सोर निस्कनेछ।

म तिनीहरूका संख्याको वृद्धि गर्नेछु;

अनि तिनीहरू घट्नेछैनन्;

म तिनीहरूलाई आदर दिनेछु;

अनि तिनीहरू अपहेलित हुनेछैनन्।

20 तिनीहरूका छोराछोरीहरू पहिलेकै जस्तै हुनेछन्;

अनि तिनीहरूको समुदाय मेरो सामु स्थापित गरिनेछ;

तिनीहरूलाई थिचोमिचो गर्ने सबैलाई म दण्ड दिनेछु।

21 तिनीहरूको अगुवा तिनीहरूकै आफ्नै जातिबाट हुनेछ;

तिनीहरूको शासक तिनीहरूमध्येबाट खडा हुनेछ।

म त्यसलाई मेरो नजिक ल्याउनेछु र त्यो मेरो नजिक आउनेछ;

किनकि आफैँले साहस गरेर

को मेरो नजिक आउनसक्छ र?’

याहवेह घोषणा गर्नुहुन्छ।

22 ‘यसरी तिमीहरू मेरो प्रजा हुनेछौ;

अनि म तिमीहरूले सेवा गर्ने परमेश्‍वर हुनेछु।’ "

23 हेर, याहवेहको रिस

आँधीबेहरीजस्तै फुटेर निस्कनेछ;

अनि दुष्‍टहरूका टाउकोमाथि

त्यो बतासको भुमरी जोडसित बजारिनेछ।

24 जबसम्म याहवेहले उहाँको हृदयको उद्देश्यहरू

पूर्ण रूपमा पूरा गर्नुहुन्‍न,

तबसम्म उहाँको भयानक रिस शान्त हुनेछैन।

आउने दिनहरूमा

तिमीहरूले यो कुरा बुझ्नेछौ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-18_14-04-22-