Publicidade

Jeremias 15

1 तब याहवेहले मलाई भन्‍नुभयो: "यदि मोशा र शमूएल नै मेरो सामु खडा भएर बिन्ती गरे तापनि यस जातिप्रति मेरो हृदय फर्कनेछैनँ। यी मानिसहरूलाई मेरो दृष्‍टिबाट टाढा पठाई दे! तिनीहरू जाऊन्! 2 अनि यदि तिनीहरूले तँलाई यसो भनेर सोधे भने, ‘हामी कता जाऔँ?’ तिनीहरूलाई भन्‍नू, ‘याहवेह यसो भन्‍नुहुन्छ:

" ‘मृत्युका निम्ति ठहराइएकाहरू मृत्युमा जाऊन्;

तरवारका निम्ति ठहराइएकाहरू तरवारमा जाऊन्;

अनिकालका निम्ति ठहराइएकाहरू, अनिकालमा जाऊन्;

कैदका निम्ति ठहराइएकाहरू, कैदमा नै जाऊन्।’ "

3 याहवेह घोषणा गर्नुहुन्छ, "म तिनीहरूका विरुद्धमा चार किसिमका विनाशहरू पठाउनेछु: तिनीहरूलाई मार्नलाई तरवार, घिसार्दै लैजानलाई कुकुरहरू; अनि निल्न र नाश गर्नलाई आकाशका चराहरू र जमिनका पशुहरू। 4 यहूदाका राजा हिजकियाका छोरा मनश्शेले यरूशलेममा जे गरेका थिए, त्यसैको कारणले म यहूदाका मानिसहरूलाई देख्ने पृथ्वीभरिका सबै राज्यहरू भयभीत हुने तुल्याइदिनेछु।

5 "हे यरूशलेम, तँलाई कसले दया देखाउला?

तेरा निम्ति कसले विलाप गर्ला?

तँ कस्तो छस् भनी सोध्न को रोकिएला?"

6 याहवेह घोषणा गर्नुहुन्छ,

"यरूशलेम, तैँले मलाई त्यागेको छस्।

तैँले मतिर आफ्नो पिठिउँ फर्काएको छस्।

यसकारण म तेरो विरुद्धमा आफ्नो हात उठाउनेछु र तँलाई विनाश गर्नेछु;

अब म तँप्रतिको रिस थाम्न सक्दिनँ।

7 देशका मूलढोकाहरूमा

म तिनीहरूलाई नाङ्लोले निफनेझैँ निफन्‍नेछु।

म मेरा मानिसहरूमाथि तिनीहरूका सन्तानको शोक र सर्वनाश ल्याउनेछु;

किनकि तिनीहरूले आफ्ना मार्गहरू बदली गरेका छैनन्।

8 म तिनीहरूका विधवाहरूको संख्या

समुद्रको बालुवाभन्दा धेरै बढाउनेछु।

मध्यदिनको समयमा म तिनीहरूका जवान ठिटाहरूका

आमाहरूको विरुद्धमा एक जना विनाशकर्तालाई ल्याउनेछु;

म तिनीहरूमाथि एक्‍कासि

सङ्कष्‍ट र त्रास ल्याउनेछु।

9 सात जनाकी आमा बेहोश हुनेछे,

र त्यसले आफ्नो अन्तिम सास फेर्नेछे।

दिन छँदै त्यसको सूर्य अस्ताउँछ;

त्यो अपमानित हुनेछे र शर्ममा पर्नेछे।

बाँचेकाहरूलाई चाहिँ

म तिनीहरूका शत्रुहरूको सामु तरवारले मार्न दिनेछु,"

याहवेह घोषणा गर्नुहुन्छ।

10 यर्मियाले भने, हाय म कस्तो दुःखी मान्छे हुँ।

मेरी आमाले मजस्तो मानिसलाई जन्माउनुभयो!

एउटा यस्तो मानिस, जससँग सारा देशले झगडा र विवाद गर्छ!

मैले तिनीहरूलाई न ऋण दिएको छु, न त ऋण नै लिएको छु,

तर पनि सबै मानिसहरूले मलाई सराप्छन्।

11 याहवेहले भन्‍नुभयो,

"निश्‍चय नै म तँलाई असल उद्देश्यले छुटाउनेछु;

निश्‍चय नै म तेरा शत्रुहरूलाई दुःख र सङ्कष्‍टको समयमा,

तँसित बिन्ती गर्न लगाउनेछु।

12 "के कुनै मानिसले फलाम भाँच्न सक्छ,

उत्तर दिशाको फलाम अथवा काँसालाई भाँच्न सक्छ?

13 "तिमीहरूले आफ्नो देशभरि

गरेका पापहरूको कारणले

तिमीहरूका सम्पत्ति र तिमीहरूका भण्डारहरू,

लुटको मालसामानजस्तै, म सितैँमा अरूलाई दिनेछु।

14 तिमीहरूले नचिनेका देशमा

तिमीहरूलाई आफ्नै शत्रुका दास तुल्याउनेछु;

किनकि मेरो क्रोध आगोजस्तै दन्कनेछ,

जुन तेरो विरुद्धमा दन्कनेछ।"

15 तब यर्मियाले भने, हे याहवेह, तपाईंलाई सबै कुरा थाहा छ;

मलाई सम्झनुहोस् र मेरो निम्ति काम गर्नुहोस्।

मलाई सताउनेहरूलाई बदला लिनुहोस्।

तपाईं धैर्यवान् हुनुहुन्छ। मलाई टाढा नलैजानुहोस्;

मैले तपाईंका निम्ति कति अपमान सहेको छु, सो विचार गर्नुहोस्।

16 जब तपाईंका वचनहरू आए, मैले ती सबै निलेँ;

ती वचनहरू मेरा निम्ति आनन्द र हृदयको निम्ति हर्षको स्रोत थिए;

किनकि हे याहवेह सेनाहरूका परमेश्‍वर,

मैले तपाईंको नाम बोकेको छु।

17 म मोजमज्जा गर्नेहरूको समूहमा कहिल्यै बसिनँ;

तिनीहरूसँग कहिल्यै रमाइलो गरिनँ;

म एकलै बसेँ, किनकि तपाईंको हात ममाथि थियो

र तपाईंले मलाई रिसले भरिदिनुभएको थियो।

18 मेरो पीडाको अन्त्य किन हुँदैन,

र मेरो घाउ किन पीडादायक र निको नहुने भएको छ?

के तपाईं मेरा निम्ति सुकेर जाने खोल्साजस्तै हुनुहुन्छ,

भर पर्न नसकिने मुहानजस्तै?

19 यसकारण याहवेह यसो भन्‍नुहुन्छ:

"यदि तैँले पश्‍चात्ताप गरिस् भने म तँलाई पुनर्स्थापित गर्नेछु,

र तँ मेरो सेवक बन्‍नेछस्;

यदि तैँले व्यर्थको कुरा नगरेर मूल्यवान् कुराहरू मात्र बोलिस् भने,

तँ मेरो अगमवक्ता हुनेछस्।

यी मानिसहरू तँतिर फर्कून्,

तर तँचाहिँ तिनीहरूतिर नफर्कनू।

20 म तँलाई यी मानिसहरूका निम्ति एउटा पर्खाल,

काँसाको एउटा किल्‍ला बनाउनेछु;

तिनीहरू तेरो विरुद्धमा लडाइँ गर्नेछन्,

तर तँमाथि विजयी हुनेछैनन्;

किनकि तँलाई विजय दिन र बचाउन

म तेरो साथमा छु,"

याहवेह घोषणा गर्नुहुन्छ।

21 "म तँलाई दुष्‍टहरूका हातबाट बचाउनेछु;

अनि म तँलाई निर्दयीहरूका हत्केलाबाट छुटाउनेछु।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-18_14-04-22-