Publicidade

Provérbios 10

1 सोलोमनका हितोपदेश:

बुद्धिमान् छोराछोरीले आफ्ना बुबालाई खुशी तुल्याउँछन्,

तर मूर्ख छोराछोरीले आफ्नी आमालाई पिरोल्छन्।

2 अन्यायसँग कमाएको धन केही मूल्यको हुँदैन,

तर धार्मिकताले मृत्युबाट छुटाउँछ।

3 याहवेहले धर्मीहरूलाई भोकै राख्नुहुन्‍न;

तर उहाँले दुष्‍टको लालसालाई विफल पार्नुहुन्छ।

4 अल्छी हातहरूले मानिसलाई गरिब बनाउँछन्,

तर परिश्रमी हातहरूले सम्पत्ति आर्जन गर्छन्।

5 ग्रीष्म ऋतुमा अन्‍नको प्रबन्ध गर्ने छोराछोरी बुद्धिमान् हुन्;

तर कटनीको समयमा सुत्ने छोराछोरी शर्म लाग्दा हुन्।

6 धर्मीको शिरमाथि आशिष्‌हरूका मुकुट रहन्छन्,

तर दुष्‍ट मानिसको मुखमा हिंसा लुकेको हुन्छ।

7 धर्मीको नाम आशिष्‌मा प्रयोग गरिन्छ,

तर दुष्‍टको नामचाहिँ कुहिएर जानेछ।

8 हृदयमा बुद्धिमान् हुनेहरूले आज्ञाहरू ग्रहण गर्छन्,

तर बकबके मूर्खको विनाश हुन्छ।

9 इमानदार मानिस निर्धक्‍क भई जिउँछ;

तर टेढो मार्गमा हिँड्ने पक्राउ पर्नेछ।

10 कपटपूर्ण आँखा झिम्काउनेले शोक ल्याउँछ;

अनि बकबक गर्ने मूर्ख सर्वनाशमा पुग्छ।

11 धर्मीको मुख जीवनको फोहोरा हो,

तर दुष्‍टको मुखमा हिंसा लुकेको हुन्छ।

12 घृणाले फाटो उब्जाउँछ;

तर प्रेमले सबै अपराधहरू ढाक्दछ।

13 समझदार व्यक्तिका ओठमा बुद्धिका कुरा पाइन्छ;

तर विवेकहीनहरूका पिठिउँमा त छडी पर्छ।

14 बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्;

तर मूर्खको मुखले विनाश निम्त्याउँछ।

15 धनीको धन नै तिनीहरूका किल्‍ला भएको सहर हो,

तर दरिद्रता गरिबहरूको विनाश हो।

16 धर्मीको ज्याला तिनीहरूको जीवन हो,

तर दुष्‍टको कमाइ पाप र मृत्यु हो।

17 अनुशासन पालन गर्ने जीवनको बाटोमा जान्छ,

तर जसले सुधारलाई बेवास्ता गर्छ, त्यसले अरूलाई पथभ्रष्‍ट पार्छ।

18 जसले आफूमा घृणा लुकाएर राख्छ, उसको जिब्रो छली हुन्छ

र जसले निन्दा फैलाउँछ, त्यो मूर्ख हो।

19 जब बढ्ता बोलिन्छ, पापले बढी स्थान पाउँछ;

तर बुद्धिमान्‌ले आफ्नो जिब्रोमा लगाम लगाउँछ।

20 धर्मीको जिब्रो निखुर चाँदी हो;

तर दुष्‍टको हृदय भने केही मूल्यको हुँदैन।

21 धर्मीको ओठले धेरैलाई उत्साह दिन्छ,

तर मूर्खहरू विवेकको अभावले मर्छन्।

22 याहवेहको आशिष्‌ले धनसम्पत्ति ल्याउँछ;

अनि उहाँले यसमा दुःख थप्नुहुन्‍न।

23 मूर्खहरू दुष्‍ट चालमा आनन्दित हुन्छन्,

तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्‍न हुन्छ।

24 तिनीहरूलाई त्रसित बनाउने कुरा नै दुष्‍टमाथि आइपर्नेछ;

धर्मीले जे इच्छा गर्छ, त्यो पूरा गरिनेछ।

25 आँधीबेहरी आएपछि दुष्‍टहरू सोहोरिएर गइहाल्छन्;

तर धर्मीचाहिँ अन्त्यसम्मै स्थिर रहन्छन्।

26 दाँतलाई सिर्का र आँखालाई धुवाँजस्तै,

अल्छे पनि त्यसलाई पठाउनेको निम्ति त्यस्तै हुन्।

27 याहवेहप्रति गरिएको श्रद्धाले जीवनको आयु लामो पार्छ;

तर दुष्‍टका आयुचाहिँ घटाइन्छ,

28 धर्मीका आशा आनन्दमय हुन्छ;

तर दुष्‍टहरूको आशा पूरा हुनेछैन।

29 याहवेहको मार्ग धर्मीहरूको निम्ति शरणस्थान हो;

तर दुष्‍ट काम गर्नेहरूको निम्ति त्यो विनाश हो।

30 धर्मी कहिल्यै उखेलिनेछैन;

तर दुष्‍ट पृथ्वीमा स्थिर रहनेछैन।

31 धर्मीको मुखबाट बुद्धिका कुरा निस्किन्छ,

तर भड्काउने जिब्रो काटिनेछ।

32 धर्मीका ओठले उचित कुरा जान्दछन्;

तर दुष्‍टको मुखले टेढामेढा कुराहरू मात्र जान्दछ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-