Publicidade

Provérbios 1

1 इस्राएलका राजा, दावीदका पुत्र, सोलोमनका हितोपदेशहरू:

2 बुद्धि र अनुशासन प्राप्‍त गर्नका निम्ति,

अन्‍तर्दृष्‍टिका वचनको समझ प्राप्‍त गर्नका निम्ति,

3 विवेकी आचरणको अनुशासन प्राप्‍त गर्नको निम्ति

जे धार्मिक, न्यायी र निष्पक्ष छ, त्यो गर्नको निम्ति,

4 सोझाहरूलाई समझदार,

जवानहरूलाई ज्ञान र स्वविवेक दिनका निम्ति—

5 बुद्धिमान्‌ले सुनोस् र तिनीहरूका ज्ञान बढाऊन्;

र विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस्—

6 हितोपदेश र दृष्‍टान्तहरू,

बुद्धिमान्‌का भनाइ र गहिरा-गहिरा वचनहरू बुझ्नका निम्ति।

7 याहवेहको भय ज्ञानको सुरुवात हो,

तर मूर्खले चाहिँ बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ।

पापी मानिसका निमन्त्रणा विरुद्ध चेतावनी

8 हे मेरा छोराछोरी, आफ्ना बुबाको शिक्षा सुन

र आफ्नी आमाको शिक्षालाई नत्याग।

9 ती तिम्रा शिरका निम्ति शोभायमान मुकुट

र तिम्रा गलामा सम्मानको हार हुन्।

10 हे मेरा छोराछोरी, यदि पापीहरूले तिमीहरूलाई उक्साए भने,

तिनीहरूसँग नलाग!

11 तिनीहरूले यसो भन्लान्, "हामीसित आऊ,

हामी निर्दोषको रक्तपात गर्न ढुकेर बसौँ,"

हामी कुनै निर्दोषलाई आक्रमण गरौँ;

12 हामी तिनीहरूलाई चिहानले जस्तै जिउँदै निलौँ;

र सबै पातालमा जानेहरूलाई जस्तै पूरै निलौँ,

13 हामी सबै किसिमका मूल्यवान् कुराहरू पाउनेछौँ;

र हाम्रा घरहरूलाई लुटका सामानहरूले भर्नेछौँ;

14 तिमी हाम्रो साझेदार बन,

यो धन हामी सबैको हुनेछ।

15 हे मेरो छोराछोरी, तिनीहरूसित नजाओ;

तिनीहरूका मार्गमा खुट्टै नटेक!

16 किनकि तिनीहरूका खुट्टा दुष्‍ट काम गर्न हतारिन्छन्,

तिनीहरू रक्तपात गर्न अग्रसर हुन्छन्।

17 चराहरूले देख्ने गरी

जाल बिछ्यानु कति निरर्थक हुन्छ!

18 यी मानिसहरू आफ्नै रगतको निम्ति ढुक्दछन्,

तिनीहरूले आफैँलाई पासो थाप्दछन्!

19 बेइमानीसित नाफा कमाउने सबैका मार्गहरू यस्तै हुन्छन्,

जसले यो लिन्छ, यसले तिनीहरू सबैको जीवन लिन्छ।

बुद्धिको हप्काइ

20 बुद्धि बाहिर खुल्‍ला सडकमा चर्को सोरले कराउँछे;

त्यसले सार्वजनिक चोकहरूमा आफ्नो आवाज उचाल्छे;

21 व्यस्त सडकका अग्ला स्थानमा त्यसले पुकार्दछे;

सहरका मूलढोकाहरूमा त्यसले आफ्नो भाषण गर्छे।

22 तिमी सोझाहरूले कहिलेसम्म आफ्ना मूर्खतालाई प्रेम गरिरहन्छौ?

कहिलेसम्म गिल्‍ला गर्नेहरू गिल्‍ला गर्नमै रमाउँछौ?

र मूर्खहरूले ज्ञानलाई घृणा गरिरहन्छौ?

23 मेरो हप्काइ सुनेर पश्‍चात्ताप गर,

म आफ्ना विचारहरू तिमीहरूलाई खन्याउनेछु;

मेरा शिक्षाहरू तिमीहरूलाई बुझाउनेछु।

24 तर मैले बोलाउँदा तिमीहरूले मलाई सुन्‍न नचाहेकाले,

र मैले आफ्ना हातहरू फैलाउँदा कसैले ध्यान नदिएकाले,

25 तिमीहरूले मेरा सबै सल्‍लाहलाई तुच्छ ठानेका हुनाले

र मेरो हप्काइलाई स्वीकार नगरेका हुनाले,

26 यसको बदलामा तिमीहरूमाथि प्रकोप आउँदा म हाँस्‍नेछु;

विपत्तिले तिमीहरूलाई छोप्दा म खिल्‍ली उडाउनेछु;

27 विपत्तिले आँधीजस्तै तिमीहरूलाई उडाउँदा,

जब भुमरीजस्तै आपत्ति तिमीहरूमाथि मडारिएर आउँछ;

जब सङ्कष्‍ट र दुःखले तिमीहरूलाई डुबाउँछन्।

28 "तब तिनीहरूले मलाई पुकार्नेछन्, तर म जवाफ दिनेछैनँ;

तिनीहरूले मलाई खोज्नेछन्, तर मलाई भेट्टाउनेछैनन्।"

29 तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले,

र याहवेहप्रति भय मान्‍न नचाहेका हुनाले;

30 तिनीहरूले मेरो सल्‍लाह ग्रहण नगरेका,

र मेरो हप्काइलाई तिरस्कार गरेका हुनाले,

31 तिनीहरूले आफ्ना कामको फलबाट खानेछन्

र आफ्ना कपटकै योजनाहरूका फलले तिनीहरू भरिनेछन्।

32 आफ्नै पथभ्रष्‍टताले गर्दा सोझाहरू मर्नेछन्,

र मूर्खहरूको आफ्नै लापर्बाहीले तिनीहरूलाई नाश गर्नेछ।

33 तर जजसले मेरो कुरामा ध्यान दिन्छन्, उनीहरू सुरक्षित रहनेछन्,

र विपत्तिको डरबाट ढुक्‍क भई रहनेछन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-