Publicidade

Provérbios 28

1 कसैले नखेदे तापनि दुष्‍ट मानिस भाग्छ;

तर धर्मीचाहिँ सिंहजस्तै साहसी हुन्छ।

2 कुनै देश बागी भयो भने त्यसका धेरै शासकहरू हुन्छन्;

तर समझशक्ति र ज्ञान भएका शासकले सुख-शान्ति कायम राख्छ।

3 गरिबमाथि शोषण गर्ने शासक

अन्‍न नाश गर्ने मुसलधारे वृष्‍टिजस्तै हो।

4 व्यवस्था त्याग्नेहरूले दुष्‍टहरूका प्रशंसा गर्छन्;

तर व्यवस्था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्।

5 दुष्‍ट मानिसहरूले न्याय बुझ्दैनन्,

तर याहवेहलाई खोज्नेहरूले यसलाई सम्पूर्ण रूपले बुझ्दछन्।

6 धनी भएर भ्रष्‍ट जीवन जिउनुभन्दा

बरु गरिब भएर निर्दोष जीवन जिउनु असल हो।

7 विवेकी छोराछोरीले शिक्षामा ध्यान दिन्छन्;

तर घिचुवाहरूको सङ्गत गर्नेले आमाबुबालाई अपमान तुल्याउँछन्।

8 ब्याज लगाएर जसले आफ्नो सम्पत्ति बढाउँछ,

त्यसले कुम्ल्याएको धन गरिबमाथि दया राख्नेको हुनेछ।

9 यदि कसैले व्यवस्थाप्रति आफ्नो कान सुन्‍नदेखि बन्द गर्छ भने,

त्यसका प्रार्थनाहरू पनि घृणित हुन्छन्।

10 जसले धर्मी जीवन जिउनेलाई खराब बाटोतिर लैजान्छ,

त्यो आफ्नै पासोमा फस्‍नेछ;

तर निर्दोषले प्रशस्त अंश पाउनेछ।

11 धनी मानिस आफ्नै दृष्‍टिमा बुद्धिमान् हुन्छ;

तर समझशक्ति भएका गरिब मानिसले त्यसलाई ठिकसँग मूल्याङ्कन गर्छ।

12 धर्मी जनहरू विजय हुँदा ठूलो खुशीयाली हुन्छ;

तर दुष्‍टहरू उच्‍च पदमा पुग्दा मानिसहरू लुक्न थाल्छन्।

13 आफ्ना पापहरू लुकाउनेले उन्‍नति गर्दैन;

तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।

14 धन्य हो त्यो मानिस, जसले सधैँभरि याहवेहप्रति श्रद्धा राख्छ;

तर आफ्नो हृदय कठोर गर्ने व्यक्ति जोखिममा पर्छ।

15 असहाय मानिसहरूमाथि शासन गर्ने दुष्‍ट शासक

गर्जने सिंह र आक्रमक भालुजस्तै हुन्छ।

16 अत्याचारी शासकको विवेक हुँदैन;

तर जसले दुष्‍ट कमाइद्वारा पाएको लाभलाई घृणा गर्छ, उसले लामो शासनको आनन्द पाउनेछ।

17 हत्याको दोषले सताएको मानिस

चिहानमा शरण लिनेछ;

कसैले पनि त्यसलाई सहायता नगरोस्।

18 निर्दोष जीवन जिउने व्यक्ति सुरक्षित रहन्छ;

तर जसका मार्गहरू भ्रष्‍ट छन्, तिनीहरू अचानक पतन हुनेछन्।

19 आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ;

तर दिवासपनाको पछि दौडने मानिसहरू गरिबीले घेरिएका हुन्छन्।

20 विश्‍वासयोग्य मानिसले धेरै आशिष् पाउनेछ;

तर धनी हुने इच्छुक व्यक्ति दण्ड नपाई उम्कनेछैन।

21 पक्षपात गर्नु उचित होइन;

तापनि मानिसले एक टुक्रा रोटीको निम्ति पनि खराब काम गर्छ।

22 लोभी मानिस धनी हुने लालसा गर्छ;

र त्यसलाई दरिद्रताले पर्खिरहेको छ भन्‍ने त्यसलाई थाहै हुँदैन।

23 कुनै मानिसलाई हप्काउनेले अन्त्यमा

चापलुसी जिब्रो भएकोभन्दा बढी निगाह प्राप्‍त गर्नेछ।

24 आफ्नो बुबा वा आमालाई लुटेर

"यो त भूल होइन" भन्‍ने व्यक्ति

विनाशकारीको साझेदारजस्तै हो।

25 लोभी मानिसले फाटो ल्याउँछ;

तर याहवेहमा भरोसा राख्ने मानिसले उन्‍नति गर्छ।

26 आफूमाथि भरोसा राख्ने व्यक्ति मूर्ख हो;

तर बुद्धिको चालमा चल्ने सुरक्षित रहन्छ।

27 जसले गरिबलाई दिन्छ, उसलाई कुनै अभाव हुनेछैन;

तर तिनीहरूप्रति वास्ता नदेखाउनेले धेरै श्राप पाउँछ।

28 दुष्‍टको हातमा शासनको जिम्मा आयो भने मानिसहरू लुक्छन्;

तर जब दुष्‍टको सर्वनाश हुन्छ, धर्मी फस्टाउँछन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-